गुल्मीमा बजार अनुगमनलाई तीव्रता दिइएको छ। उद्योग वाणिज्य संघ, स्थानीय तह र विभिन्न सरकारी निकायबाट बजार अनुगमन हुने भए पनि व्यवसायीले सुझाव कार्यान्वयनमा खासै चासो दिने गरेका छैनन्।
अहिले मुख्य चाडपर्वलाई केन्द्रित गरेर बजारमा हुन सक्ने गुणस्तरहीन उपभोग्य वस्तुहरूको बिक्री–वितरण र कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन सुरु भएको छ। घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तह, जिल्ला प्रहरी कार्यालय तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन गरिरहेका छन्।
विभिन्न समयमा जिल्लाका १० स्थानीय तहका ४७४ पसल तथा फर्महरूको अनुगमन गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख राजीव अर्यालले जानकारी दिए। अनुगमनको क्रममा व्यवसाय दर्ता, नवीकरण, खाद्य वस्तुहरूको उपभोग्य मिति, होटेल, किचन, फ्रिज तथा डिपफ्रिज, भण्डारण, मूल्यसूची र खरिद–बिक्री बिलको अवस्था हेर्ने गरिएको अर्यालले बताए। अवस्था हेरेर सुधारका लागि सुझाव दिने, सामग्री जफत गर्ने र दण्ड–जरिवानासमेत गर्ने गरिएको अर्यालले बताए। उनका अनुसार अहिलेको अनुगमनका क्रममा कुल ९५ हजार रुपैयाँबराबरका अखाद्यवस्तु जफत गरेर नष्ट गरिएको छ।
‘बजारमा स्थानीय सरकारको नजर पुगिरहे धेरै सुधार गर्न सकिन्छ। धेरै व्यवसायीलाई सुधार सुझाव कार्यान्वयनमा चासो नरहेको पाइयो,’ उनले भने, ‘सुधारका केही संकेत पनि देखिएका छन्।’ बजारमा मूल्यमा एकरूपता नहुनु, मूल्यसूची, होर्डिङबोर्ड नराख्ने, खरिद तथा बिक्री बिल नराख्ने, व्यवसाय दर्ता नवीकरणमा चासो नराख्ने गरेको अनुगमनको क्रममा फेला परेको छ। साथै होटेलहरूले किचन, फ्रिज तथा डिपफ्रिज, भण्डारण सफा नगर्ने, सबै प्रकारका मासु एकै ठाउँमा राख्ने, साना पसलहरूमा जंकफुडको बिक्री बढी हुने गरेको देखिएको छ।
बुधबार रुरुक्षेत्र गाउँपालिकाको रिडी बजार अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आफूहरूले सुरुमा सुधार र सुझावलाई प्राथमिकता दिएकाले बिचबिचमा छड्के अनुगमन हुँदा सुझाव कार्यान्वयन नभएको पाइएमा कडा कारबाही गर्ने बताए। उनले बजारलाई व्यवस्थित गर्न उपभोक्ता र विक्रेता दुवै चनाखो हुन र कालोबजारी, अखाद्य वस्तु बिक्री–वितरणको सूचना आफूहरूलाई दिन आग्रह गरे।