नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्न नेपाल र बंगलादेशबिच छुट्टै डेडिकेटेड अन्तरदेशीय प्रसारणलाइन निर्माण गरिने भएको छ । बुधबार काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छैटौँ बैठकमा यस्तो सहमति भएको हो ।
नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न बिहीबार काठमाडौंमा त्रिपक्षीय (नेपाल, बंगलादेश, भारत) सम्झौतापत्रमा हस्ताक्षर हुँदै छ । त्यसको पूर्वसन्ध्यामा नेपाल र बंगलादेशबिच डेडिकेटेड अन्तरदेशीय प्रसारण सम्बन्धमा प्राविधिक र आर्थिक पक्ष अध्ययन गर्ने सहमति भएको हो ।
यसअघि जेठ ०८० मा बंगलादेशमा भएको पाँचौँ बैठकले नेपाल र बंगलादेशबिच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारणलाइनका सम्भाव्य विकल्पहरूको अध्ययन गर्ने निर्णय गरेको थियो ।
स्रोतकाअनुसार नेपालको अनारमनीदेखि बंगलादेशको पञ्चागढसम्म डेडिकेटेड अन्तरदेशीय प्रसारणलाइन बनाइनेछ । यसले भारतको सिलीगुडी (पश्चिम बंगाल) क्षेत्रलाई छुनेछ । यो प्रसारण लाइन बनेमा नेपालले बंगलादेशमा सीधै विद्युत् पठाउन सक्नेछ । ४०० केभी क्षमतामै बन्ने प्रसारणलाइनको लम्बाइ करिब ४५ किलोमिटर हुनेछ । यो लाइन बनेमा भारतीय प्रसारण प्रणालीमा निर्भर हुनु पर्दैन । अहिले भारतीय प्रसारण प्रणाली प्रयोग गरेर बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न लागिएको हो ।
स्रोतका अनुसार ‘इनरवा (नेपाल)–पुर्णिया (भारत)–बंगलादेश’ प्रसारणलाइन पनि बनाउने सम्बन्धमा आर्थिक तथा प्राविधिक अध्ययन गरिनेछ । यद्यपि, यो डेडीकेटेड प्रसारणलाइन भने हुनेछैन । यसैगरी, भेडामारा (बंगलादेश)–बराहमपुर (भारत)बिच छुट्टै प्रसारण लाइन बनाउन भारतमा पहल गर्ने सहमति पनि भएको छ । यो प्रसारणलाइन भएमा भारतीय प्रसारणलाइनबाट बंगलादेशमा विद्युत् पठाउन पनि सहज हुनेछ ।
नेपाल र बंगलादेशबीच भारतीय प्रसारण लाइन प्रयोग गरेर अब छिट्टै विद्युत् व्यापार सुरु हुँदैछ । तर, दुई देशबीच डेडिकेटेड प्रसारण लाइन छैन । त्यो अवस्थामा बिभिन्न झन्झटहरू आउन सक्छन् । तसर्थ, छुट्टै डेडीकेटेड प्रसारण लाइनको आवश्यक पनि छ ।
६८३ मेगावाटको सुनकोशी तेस्रोको विद्युत् पनि बंगलादेश निर्यात गरिने
नेपाल र बंगलादेशको संयुक्त लगानीमा निर्माण गरिने ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् परियोजनाको विद्युत् पनि बंगलादेश नै निर्यात गरिने भएको छ । बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् भारत हुँदै बंगलादेशसम्म पुर्याउन भारतलाई अनुरोध गर्ने सहमति भएको मन्त्रालयका प्रवक्तासमेत रहेको चिरञ्जीवी चटौतले जानकारी दिएको ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परियोजनाको नेपालमा खपत भएर बाँकी हुने विद्युत् बंगलादेश निर्यात हुने बताए । ‘परियोजना बन्दासम्म त्यसको विद्युत् नेपाललाई आवश्यक नपर्न पनि सक्छ,’ उनले भने, ‘यद्यपि, नेपाललाई आवश्यक परेको अवस्थामा प्रयोग गर्न पाउने सर्तमा उक्त परियोजनाको विद्युत् बंगलादेशमै निर्यात हुनेछ ।’
नेपाल र बंगलादेशको संयुक्त लगानीमा यो परियोजना बनाउने गरी यसअघि नै सहमति भइसकेको छ । बैठकले नेपाल, बंगलादेश र भारतबिच सहकार्य पूर्ण सहभागिता आधारमा सुनकोशी तेस्रो आयोजना विकास गर्ने निर्णय गरेको छ । उक्त आयोजना विकास गर्ने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबिच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता अर्को बैठक अगाडि नै गर्ने सहमति भएको छ । अबको ६ महिनामा संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता गरिने मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । रामेछाप र काभ्रेपलाञ्चोकमा बन्ने यो परियोजनाको लागत अनुमान एक अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ ।
यस्तै, बैठकले नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ । बिहीबार दिउँसो ४ बजेट दरबारमार्ग स्थित याक एन्ड यती होटेलमा हस्ताक्षर समारोह हुँदै छ । हस्ताक्षर समारोहमा उपस्थिति हुन बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसन काठमाडौं आइसकेकी छिन् ।
नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशको निजी क्षेत्रको लगानी आकर्षित गर्न व्यावसायिक सम्मेलन गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गर्ने निर्णय पनि बैठकले गरेको छ । यसै गरी नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशको दिगो र नवीकरणीय ऊर्जा विकास प्राधिकरण वैकल्पिक ऊर्जामा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने निर्णय पनि बैठकमा भएको छ ।
बुधबारको बैठकमा नेपाल, बंगलादेश र भारतबिच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन निर्माणलगायतका क्षेत्रमा सहकार्य गर्न त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नोतर्फबाट पहल गर्ने निर्णय पनि भएको छ । त्रिपक्षीय संयत्र बनेमा तीन देशबिच ऊर्जामा सहकार्य गर्न र नेपाल–बंगलादेशबिच डेडिकेटेड प्रसारणलाइन बनाउन पनि सहज हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
ऊर्जामन्त्री खड्का र बंगलादेशका जलस्रोतमन्त्रीबिच भेटवार्ता : नेपालबाट ठुलो मात्रामा विद्युत् आयात गर्ने बंगलादेशका जलस्रोतमन्त्रीको भनाइ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । बिहीबार हुने विद्युत् बिक्री सम्झौता समारोहमा सहभागी हुन नेपाल आएकी हसन र ऊर्जामन्त्री खड्काबिच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो ।
ऊर्जामन्त्री खड्काले यो भेटले नेपालको जलविद्युत् सम्भाव्यता र बंगलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशको ऊर्जा सहकार्यलाई अझ प्रगाढ बनाउने बताए । नेपाल–भारत–बंगलादेशबिच विद्युत् क्षेत्रमा सहकार्य तथा विद्युत् व्यापार प्रवर्द्धनका लागि त्रिपक्षीय संयुक्त सञ्चालन समिति र त्रिपक्षीय संयुक्त कार्यदल गठन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै, भेटमा बंगलादेशकी मन्त्री हसनले नेपालबाट बंगलादेशमा ऊर्जा आयात गर्ने अघिल्लो सरकारको निर्णयलाई वर्तमान सरकारले निरन्तरता दिएको बताइन् । बंगलादेशमा भइरहेको गरिबी, बेरोजगारी र कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ अहिलेको सरकारले काम गरिरहेको उनको भनाइ छ ।
कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीति लिएको बंगलादेशलाई नवीकरणीय ऊर्जाको बाटोमा जानका लागि नेपालका जलविद्युत्ले सहयोग पुग्ने उनको भनाइ छ । अहिले ४० मेगावाटका लागि सम्झौता गरे पनि भविष्यमा नेपालबाट ठुलो मात्रामा विद्युत् आयात गरिने उनले बताइन । नेपालको जलविद्युत् क्षेत्रमा बंगलादेशले आगामी दिनमा लगानी बढाउँदै लैजाने पनि उनको भनाइ छ । नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न बिहीबार मात्रै काठमाडौंमा त्रिपक्षी (नेपाल, बंगलादेश, भारत) सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । त्यसको पुर्व सन्ध्यामा नेपाल र बंगलादेशबीच उक्त परियोजनाको विद्युत् बंगलादेश नै निर्यात गर्न सहमति भएको हो ।
नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हविबुर रहमानको सहअध्यक्षतामा यो बैठक सम्पन्न भएको थियो । मंगबलार ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत तथा बंगलादेशको तर्फवाट विद्युत्, ऊर्जा तया खनिज मन्त्रालयका अतिरिक्त सचिव डा. साइद मासुम अहमद चौधरीको सहअध्यक्षतामा भएको बैठकले बिभिन्न प्रस्ताव बुधबारको बैठकमा पेस गरेको थियो ।