कर्णाली यस्बिजले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको पहिलो खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–० को सोझो सेटमा हराएको हो । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा कर्णाली र ललितपुरबिच पहिलो र दोस्रो सेट प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट ललितपुरको गल्तीमा कर्णालीले २५–२२ ले बाजी मार्यो । कर्णालीले दोस्रो सेटमा पनि २५–२२ को स्कोरमा आफ्नो पक्षमा पार्यो ।
पहिलो दुई सेट जित्दै ड्राइभिङ सिटमा रहेको कर्णालीले तेस्रो सेटको सुरुवातमा कमजोर प्रदर्शन गर्यो । खेलमा रहिरहन ललितपुरलाई यो सेट जित्नुपर्ने थियो । यही योजनाका साथ कोर्टमा आएको ललितपुरले पहिलो १० अंकको छिनोफानो हुँदा ९–१ को दरिलो अग्रता बनायो । यस सेटमा कर्णालीका खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् ।
खेलमा ९ अंकले पछाडि परेको कर्णालीले बिस्तारै सुधार गर्दै ललितपुरलाई अन्तिमसम्म चुनौती दिइरह्यो । ९–१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गरेको कर्णालीले अन्ततः २९–२७ ले जित्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो । अनुभवी प्रशिक्षक कुमार राईको प्रशिक्षणमा रहेको कर्णालीले तीन खेलबाट ८ अंक बनाएको छ । ललितपुरले तीन खेलबाट ६ अंक जोडेको छ । ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्स र दोस्रो खेलमा मधेश युनाइडेटलाई हराएको थियो । कर्णालीले पहिलो खेलमा मधेश र दोस्रो खेलमा गन्डकी थन्डर्सलाई निराश बनाएको थियो । लिगमा कर्णाली पहिलो तथा ललितपुर दोस्रो स्थानमा छन् ।
काठमाडौंको दोस्रो जित
पहिलो खेलमा ललितपुरसँग स्तब्ध भएको काठमाडौंले त्यसपछि लगातार दुई खेलमा जित निकालेको छ । बुधबारको दोस्रो खेलमा काठमाडौंले गण्डकीमाथि ३–१ को जित निकाल्यो । काठमाडौंले पहिलो सेट २५–२३ ले जितेको थियो । तर, दोस्रो सेटमा गण्डकीको उत्कृष्ट पुनरामगनका अगाडि काठमाडौंको केही चलेन । काठमाडौं दोस्रो सेटमा १९–२५ ले पराजित भयो । १–१ को बराबरी रहेको खेलमा काठमाडौंले तेस्रो तथा चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीलाई हरायो । काठमाडौं तेस्रो सेट २५–२१ र चौथो सेट २५–१६ ले हात पार्दै ३ अंक जोड्न सफल भयो । काठमाडौंले तीन खेलमा ६ अंक जोडेको छ । काठमाडौंले दोस्रो खेलमा चितवन शक्तिलाई पराजित गरेको थियो ।