बाँके प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर कञ्चनपुर, लागुऔषध नियन्त्रण ब्युरो बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले ९९ ग्राम ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको हो।
नेपालगन्ज उपमहानगरपालिका– २० राँझास्थित लालचन्द्र कामीको डेरामा खानतलासी गर्दा भारतीय सीमावर्ती बजार रुपैडिहाका राहुल शुक्लाको पाइन्टको दायाँ गोजीबाट प्लास्टिकमा बेरेर राखेको दुई पोका ब्राउनसुगर बरामद भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘प्लास्टिकसहित तौल गर्दा १०२ ग्राम भए पनि प्लास्टिक हटाई शुद्ध तौल गर्दा ९९ ग्राम भएको छ ।’
प्रहरीले खाटमुनि लुकाएर राखेको लागुऔषध ब्राउनसुगर तौल गर्न प्रयोग गरिने एक थान डिजिटल तराजुसहित लालचन्द्र कामी र राहुल शुक्लालाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।