वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका– ९ गच्छे टोल घर भई काठमाडौंको टोखा नगरपालिका– ७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका– ३ घर भई काठमाडौं टोखा नगरपालिका– ९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अञ्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका– ६ घर भई ललितपुर महानगरपालिका– २ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनले भने, ‘सुदनले एकजना पीडितबाट रु. पाँच लाख, अञ्जनाले एकजना पीडितबाट रु. दुई लाख ९० हजार र विन्दुले एकजना पीडितबाट रु. एक लाख पाँच हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।’
सुदनलाई पुतलीसडकबाट, अञ्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।