झापा प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना : ठुला सहरमा यात्रु सहायता कक्ष

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका ठुला सहरमा यात्रु सहायता कक्ष सुरु गरेको छ । चाडपर्वमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको चाप हुने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।

बुधबार चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुरजस्ता ठुला सहरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले सार्वजनिक यातायातका यात्रुसँग अन्तर्क्रिया पनि गर्ने बताए। 

‘तोकिएको भाडामा ल्याए कि ल्याएनन् । क्षमताभन्दा धेरै यात्रु बोके कि भनेर यात्रुसँग अन्तर्क्रिया गर्नेछौँ,’ उनले भने। उनका अनुसार जिल्लामा चाडपर्वमा हुने चुनौती भारतसँगको खुला सीमा पनि रहेको छ। खुला सीमाबाट हुने भन्सार छली र सीमा अपराध जिल्लाको चुनौती रहेको बताए। उनले त्यसका लागि सीमानाकामा प्रहरीले विशेष ध्यान दिएको दाबी गरे।

यस्तै, भारत हुँदै नेपाल आउने मानिसको उचित व्यवस्थापनमा प्रहरीले ध्यान दिएको उनको भनाइ छ। प्रहरी उपरीक्षक केसीका अनुसार चाडपर्वमा चोरी, अनलाइन ठगी, पकेटमार, लुटपाटजस्ता घटनाको जोखिम हुन्छ। यसमा प्रहरी सचेत भएर लागिपरेको उनले बताए।

यस्तै, चाडपर्वमा हुन सक्ने कालाेबजारी र कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै यसलाई नियन्त्रण गर्न प्रहरी सचेत भएर लाग्ने बताए । सुरक्षित भएर नागरिकले चाडपर्व मनाउन सक्ने वातावरण तय गर्न प्रहरी लागिपरेको उनले बताए।

झापामा यहाँका र बाहिरी जिल्लाका करिब १२ लाख जनसंख्या रहेको र उनीहरूको सुरक्षाका लागि करिब एक हजार दुई सय प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

सुझावित समाचार