प्रस्तावित प्रधानन्यायाधीश र राजदूतको सुनुवाइ : उजुरीकर्तासँग भर्चुअल छलफल, आज सुनुवाइ

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग भर्चुअल छलफल गरेको छ । संसद् सचिवालयका अनुसार समितिले उजुरीकर्तासँग भर्चुअल छलफल गरेको पहिलोपटक हो । समितिले ३ असोजमा प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान गरेको थियो । राउतविरुद्ध ६ र राजदूतद्वयविरुद्ध दुई उजुरी परेकोमा समितिले मंगलबार उजुरीकर्तासँग छलफल गरेको हो ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिएका अमेरिकानिवासी पूर्वसैनिक अधिकृत प्रज्वल बस्नेतसँग जुम र बाजुराका गगन अयडीसँग टेलिफोनमार्फत उजुरीका सम्बन्धमा छलफल गरेको हो । बस्नेतले आफ्नो उजुरीमा संविधानसँग बाझिएको सैनिक ऐन संशोधन गर्न सर्वोच्च अदालतले १३ वर्षअघि दिएको आफ्नै फैसला कार्यान्वयन गराउन न्यायाधीशहरू अक्षम रहेको, सेनासँग सम्बन्धित विषयमा निर्णय गर्ने सन्दर्भमा डराएको भन्दै बस्नेतले राउत पनि यो विषयमा उदासीन रहेकाले निर्णय गर्न नसक्ने व्यक्ति कसरी प्रधानन्यायाधीश हुन सक्छ भनी प्रश्न उठाएका छन् । अयडीले ४ मंसिर ०७९ को निर्वाचनमा घर घेराबन्दी गरी आफ्नो छोराको हत्या गर्नेहरू जिल्ला र उच्च अदालतबाट पुर्पक्षका लागि थुनामा पठाएकोमा सर्वाेच्चमा राउत र अर्का न्यायाधीशले धरौटीसमेत नलिई साधारण तारेखमा छोडी अन्याय गरेकाले प्रधानन्यायाधीश नबनाउन माग गर्दै सिडिओ कार्यालयमार्फत समितिमा उजुरी दिएका छन् । 

समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालविरुद्ध उजुरी दिएका इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठसँग पनि जुममार्फत छलफल गरेको छ । श्रेष्ठले तेलअबिबबाट जुमबाटै जोडिएर उजुरीबारे जानकारी दिएका छन् । आफ्नो उजुरीमा श्रेष्ठले परराष्ट्रसचिवका रूपमा सरुवा समिति संयोजक रहेकी लम्सालले विदेशस्थित नियोगहरूमा हुने सरुवामा पक्षपात गरेको, आफ्नो दाबी पुग्ने नियोगमा सरुवा नगरेको, ग वर्गमा काम गरिरहेकोमा पुनः ग वर्गसरहकै द्वन्द्वग्रस्त देश इजरायल नियोगमा सरुवा गरेर विभेद गरेको, फिल्ड भिजिटमा जान स्वीकृति नदिएको भन्दै यी विषयमा अन्याय गरी निजामती सेवा ऐन–नियम तथा परराष्ट्र सेवा नियम र निर्देशिकाको मर्मविपरीत कार्य गरेकाले अयोग्य घोषित गर्न माग गरेका छन् । 

समितिमै रोए आमाछोरी
प्रस्तावित प्रधानन्यायाधीश राउतले जग्गासम्बन्धी मुद्दामा आफूलाई हराएर उठीबास गरेको भन्दै चितवन रत्ननगरकी शुभलक्ष्मीदेवी थपलिया र छोरी प्रमिला थपलिया समितिमै रोएका छन् । ‘हामीलाई यति अन्याय गरेको, गाह्रो पारेको छ, हाम्री ७१ वर्षकी आमाको वास उठाइदिएको छ, त्यो न्यायाधीशले । न्याय पाइएला भनेर लाजपुर्जादेखि कर तिरेका सबै प्रमाण लिएर आएका छौँ । सबै प्रमाण हुँदा पनि आफ्नो श्रीमान्को छहारीमा ७१ वर्षकी बुढी आमाले बस्न नपाउनु भनेको के न्याय हो ?’ उनीहरूले रुँदै समितिमा सोधे, ‘प्रकाशमानसिंह राउतले यस्तो अविवेक प्रयोग गरी अनपढजस्तो व्यवहार गरिदिनुभयो, हामीलाई साह्रै अन्याय गर्नुभयो । उहाँ त न्यायाधीशका लागि पनि योग्य नहुने व्यक्ति कसरी प्रधानन्यायाधीश हुन सक्छ ?’ 

थपलियाको उजुरीमा १५ चैत ०८० मा राउतले जग्गासम्बन्धी मुद्दामा कानुनविपरीत ‘म वृद्ध एकल नारीको घरगोठ उठीबास बनाउने गरी व्यक्तिगत स्वार्थमा परी त्रुटिपूर्ण फैसला गरेको’ भन्दै अन्याय गरेकाले प्रधानन्यायाधीशमा अनुमोदन नगर्न माग गरिएको छ । प्रमाणको अध्ययन तथा न्यायाधिक विश्लेषणविना पूर्वाग्रही ढंगले प्रभावमा परेको त्रुटिपूर्ण फैसला गरेकाले राउत न्यायाधीश पदमा रहन पनि नहुने जिकिर गरिएको छ भने गैरन्यायिक फैसला गर्ने राउतमाथि छानबिन र आवश्यक कारबाही गरी आफूलाई पुनरावलोकन एवं न्याय दिन माग गरिएको छ । 

प्रस्तावित प्रधानन्यायाधीश राउत र अस्ट्रेलियाका लागि राजदूत यादवको सुनुवाइ आज हुँदै छ । यसका लागि बुधबार दिउँसो १ बजे सुनुवाइ समितिको बैठक बोलाइएको छ । सुनुवाइका क्रममा प्रस्तावित व्यक्तिले आफूमाथि लागेका अभियोगमा सफाइ दिने तथा आफ्ना कार्ययोजना प्रस्तुत गर्नेछन् ।

सुझावित समाचार