दसैँको अग्रिम टिकट बुकिङ नरोकिने

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

यातायात व्यवसायीहरूले दसैँलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कायमै राख्ने भएका छन् । मंगलबार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबिच भएको बैठकमा गृह मन्त्रालयको विपत्सम्बन्धी सूचनाका आधारमा अग्रिम टिकट बुकिङ कायम राख्ने भएको हो ।

विभाग र व्यवसायीको सहमतिअनुसार नै गत शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर, १०–१२ असोजमा भएको अविरल वर्षाका कारण आएको बाढीले धेरै राजमार्गहरू अवरुद्ध छन् । बिपीलगायतका केही राजमार्गहरू दसैँअघि खोल्न नसक्ने अवस्थामा छन् । देशभर गरेर २१.५ किमि सडक क्षतिग्रस्त भएका छन् भने सातवटा पुल बगाएको छ । दसैँ (२६ असोज) नजिकिँदै गर्दा यसरी सडकका पूर्वाधार नमज्जाले प्रभावित भएका छन् भने कैयौँ सार्वजनिक गाडी पहिरोमा परेर क्षतिग्रस्त भएका छन् ।

मौसम अझै सामान्य नभएकाले दसैँलक्षित सडक मर्मत गर्न सकिने अवस्था पनि छैन । दसैँमा सडक अवरुद्ध हट्ने मात्रै सम्भावना छ । खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्न सम्भावना न्यून छ । त्यसमाथि दसैँसम्म मौसम कस्तो हुन्छ भन्ने विषयमा अझै पनि अन्योल छ । त्यसअनुसार अग्रिम टिकट बुकिङ गरेर पूर्वघोषित समय तालिकाअनुसार गाडी सञ्चालन गर्न चुनौती देखिएको छ । व्यवसायीहरूले मंगलबार टिकट बुकिङ स्थगित गरेर बन्द नै गर्ने प्रस्ताव विभागमा लगेका थिए । यसमा अन्य कुनै विकल्प खोज्ने उनीहरूको योजना थियो । तर विभागसँगका छलफलमा परिस्थितिअनुसार अग्रिम टिकट बुकिङ कायमै राख्ने निर्णय भएको महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । 

‘पछिल्लो परिस्थितिले निकै अन्योल देखाएको छ । सोहीअनुसार हामीले मंगलबार अग्रिम टिकट बुकिङ स्थगित गरेर विभागसँग छलफलमा गएका थियौँ । त्यसमा परिस्थितिअनुसार अग्रिम टिकट बुकिङ कायमै राख्ने निर्णय भएको छ,’ उनले बताए । सवारीसाधनले अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र यात्रा गर्नुपर्ने बताइएको छ । अत्यधिक वर्षाका कारणले रेड जोनमा परेका सडकखण्ड तथा सडकहरूमा हेभी इक्विपमेन्ट तैनाथ राख्न सडक विभागलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।  

सुझावित समाचार