प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो प्रभावितको उद्धारलगायतमा सक्दो काम गरिरहेको बताएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा विपद्को पूर्वतयारी कम भएको स्वीकार गर्दै प्रधानमन्त्रीले सक्दो काम भइरहेको बताएका हुन्।
‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन। यस प्रकारको परिस्थिति आउला, यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, यस प्रकारको क्षति होला, यस प्रकारको भौतिक संरचना, मानवीय क्षति होला भन्ने अनुमान थिएन,’ उनले भने, ‘प्राकृतिक विपत्तिका लागि सरकारले गरेको पूर्वतयारीका कुराहरू यस प्रकारको भन्दा अलि कमै जोखिम हुने गर्थ्यो सधैँ, त्यसैअनुसारको थियो। यो अलिक ठुलै विपत्ति आइलाग्यो। विपत्ति कत्रो आउँछ भनेर भन्न सकिँदैन।’
कमी-कमजोरी भएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले सरकारले आगामी दिनमा यसलाई गम्भीरताका साथ लिने स्पष्टीकरण दिए।
‘केही राम्रा काम पनि भएका होलान्। सरकारले राम्रो काम पनि गरेको होला, सुरक्षाकर्मीले गरेका होलान्। चार हजारभन्दा बढी मानिसलाई रेस्क्यु नगरेको भए त उनीहरू बाँच्न गाह्रो थियो नि त,’ उनले भने।