कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ वर्षयता सप्तकोशी नदीमा पानीको बहाव उच्च
कोशी नदीको बहाव इतिहासकै दोस्रो उच्च विन्दुमा पुगेको छ । यसअघि कोशीमा सन् १९६८ सालमा आइतबारको भन्दा बढी पानी बगेको थियो । त्यस वेला सात लाख ८८ हजार दुई सय क्युसेक पानी कोशी ब्यारेज हुँदै बगेको थियो ।
आइतबार बिहान ६ लाख ६१ हजार क्युसेक पानी कोशी ब्यारेजमा मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ वर्षयता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
अहिले केही पानी ब्यारेज माथिबाट बगिरहेको छ । ०११ सालमा कोशी सम्झौता भएपछि भारततर्फ पानी लैजानका लागि इन्टेक बनाउन ब्यारेजको निर्माण भएको हो । ब्यारेज पुरानो भएका कारण पटकपटक खतरा हुने चेतावनी दिइँदै आएको छ । ०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिवेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो। त्यतिवेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा सात हजार ५६३ परिवार विस्थापित भएका थिए।
कोशी नदीको पानी कोशी ब्यारेजको पुलमाथिबाट बग्न थालेको छ। नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुलमाथिबाट बाढी बग्न सुरु भएको हो।
ब्यारेजको ३७ देखि १ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको छ। कोशी ब्यारेजका ५६ ढोका खुला गरिएको छ भने कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेडअलर्ट’ जारी गरेको छ। जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजावतमा रोक लगाएको छ।