दसैँअगाडि नै दुध र उखु किसानलाई भुक्तानी दिन दुई अर्ब निकासा

आठ जिल्लाका उखु किसानलाई भुक्तानी दिन करिब डेढ अर्ब निकासा, दुध किसानको बक्यौता तिर्न ६० करोड स्वीकृत

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

दसैँअघि उखु र दुग्ध किसानको बक्यौता चुक्ता गर्न सरकारले शुक्रबार दुई अर्ब पाँच करोड ३२ लाख २१ हजार ८६७ रुपैयाँ निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार उखु किसानले सरकारी अनुदानबापत पाउनुपर्ने एक अर्ब ४५ करोड ३२ लाख २१ हजार ८६७ रुपैयाँ र दुध किसानको बक्यौताबापत ६० करोड रुपैयाँ भुक्तानी दिने गरी रकम निकासा भएको हो । उखु किसानले पाउने सरकारी अनुदानको रकम सुनसरी, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पश्चिम नवलपरासी र कञ्चनपुर गरी आठ जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)मा पठाइएको छ भने दुग्ध किसानको बक्यौता तिर्न सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरिएको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीले दसैँअघि किसानको बक्यौता तिर्ने प्रतिबद्धताअनुसार रकम निकासा गरेको बताए । मन्त्री अधिकारीले १० भदौमा पत्रकार सम्मेलन गर्दै दसैँअगाडि किसानले पाउनुपर्ने दुई अर्ब ५७ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्ने प्रतिबद्ध रहेको बताएका थिए । ‘किसानले दसैँअघि बक्यौता पाउनुपर्छ भनेर प्रयास गरिरहेको थिएँ,’ उनले भने, ‘शुक्रबार पूर्णता पाएको छ । अब दसैँअघि नै सबै किसानको हातमा रकम पुग्ने गरी सरकारी संयन्त्रले काम गर्नुपर्छ ।’

उखु किसानलाई सरकारले प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ । आव ०८०/८१ मा उखु उत्पादन गरेका किसानलाई भुक्तानी दिन सो रकम निकासा गरिएको हो । किसानले चिनी उद्योगमा बिक्री गरेको उखुको परिमाण सम्बन्धित स्थानीय तह (पालिका)मा विवरण दर्ता हुने गरेको छ । स्थानीय तहले किसानको बैंक खाता र उत्पादन गरेको उखुको परिमाण उल्लेख भएको विवरण कोलोनिका पठाउने गरेका छन् । सोही विवरणका आधारमा कोलोनिकाले किसानको बैंक खातामा सोझै रकम पठाउने गरेको छ ।

चालू आव ०८१/८२ को बजेटमा उखु किसानलाई अनुदान दिन विनियोजन भएको दुई अर्ब २५ करोडमध्ये पहिलो चरणमा एक अर्ब ४५ करोडभन्दा बढी रकम पठाइएको हो । कृषि मन्त्रालयका अनुसार आउँदो पुसमा अर्को किस्ता पठाइनेछ । यसपटक रकम पठाउँदा छुट भएका कैलाली, कपिलवस्तु, नवलपरासीपूर्वलगायतका जिल्लाका किसानले पाउनुपर्ने अनुदानलाई समेटेर दोस्रो किस्ता पठाइनेछ ।

कृषिमन्त्री अधिकारीले दोस्रो किस्ताबापतको रकम पठाउन कात्तिकबाटै प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएका छन् । ‘सरकारी प्रक्रिया लामो हुँदा किसानले समयमै रकम नपाउने देखिएकाले १ कात्तिकबाटै फाइल अगाडि बढाएर पुसमा रकम निकासा हुने वातावरण तयार गर्न भनेको छु,’ मन्त्री अधिकारीले भने ।

डिडिसीका महाप्रबन्धक डा. सूर्यप्रसाद पौडेलका अनुसार सरकारबाट प्राप्त ऋण किसानको बक्यौता तिर्न खर्च गर्ने बताए । आइतबार कोलोनिका हुँदै रकम निकासा हुने विश्वास व्यक्त गरे । डिडिसीलाई ६० करोड रुपैयाँ ऋण दिन २० भदौको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । महाप्रबन्धक पौडेलका अनुसार डिडिसीले किसानलाई तिर्नुपर्ने बक्यौता एक अर्ब १० करोडभन्दा बढी छ । प्राप्त ऋणमा २० करोड थपेर किसानलाई दसैँअगाडि नै चुक्ता गर्ने उनको भनाइ छ ।

‘हाम्रो खातामा पैसा आउनासाथ डिडिसीमातहतका सम्बन्धित आयोजनामा पठाउँछौँ,’ उनले भने, ‘आयोजनाहरूले दुग्ध सहकारीमा पठाउँछन् र त्यहाँबाट किसानले पाउँछन् ।’ उनले साउन र भदौ महिनामा दुध बिक्री गरेको अधिकांश किसानको रकम चुक्ता गरेको पनि दाबी गरे । मासिक २० करोड रुपैयाँभन्दा बढी किसानलाई दुधको पैसा भुक्तानीमा खर्च गरिरहेको उनले जानकारी दिए । 

ऋण काढेर दुग्ध किसानको बक्यौता तिरिँदै
दुग्ध विकास संस्थान (डिडिसी)ले ऋण काटेर किसानको बक्यौता तिर्दै आएको छ । यसपटक पनि सरकारबाट ६० करोड रुपैयाँ लिएको ऋण किसानको बक्यौता तिर्न प्रयोग गर्ने महाप्रबन्धक डा. सूर्य पौडेलले जानकारी दिए । डिडिसीले विगतमा पनि किसानको बक्यौता तिर्नका लागि सरकारबाट ऋण लिए पनि आधा रकम प्रशासनिक क्षेत्रमा खर्च गरेको थियो । त्यसैले यसपटक बक्यौता भुक्तानी गर्ने सर्तमा मात्र ऋण दिइएको छ ।

महाप्रबन्धक पौडेलले पनि किसानको बक्यौता तिर्नबाहेक अन्यत्र खर्च नगरिने दाबी गरे । ‘कृषि र अर्थ मन्त्रालयबाट निकै कडा सर्त राखेर ऋण पाएका छैनौँ । त्यसैले किसानको बक्यौता भुक्तानीबाहेक अन्य कुनै पनि क्षेत्रमा एक रुपैयाँ पनि खर्च गर्दैनौँ,’ उनले भने । संस्थानले यसअघि गत चैतमा किसानको बक्यौता तिर्न ३० करोड रुपैयाँ सरकारबाट ऋण लिएर १३ करोड कर्मचारीको तलब–भत्तामा खर्च गरेको थियो ।

त्यसअघि ०७९ वैशाखमा १५ करोड र ०७८ असारमा २० करोड रुपैयाँ पनि सरकारबाट ऋण लिएको थियो । डिडिसीले तीन वर्षयता सरकारबाट एक अर्ब २५ करोड रुपैयाँ ऋण लिइसकेको छ ।
 

See More On

सुझावित समाचार