एएफसी यू–२० एसियन कप २०२५ छनोटमा नेपाल चार खेलमा १५ गोल व्यहोर्दै बाहिरिएको छ।
शुक्रबार चाइनिज ताइपेईस्थित न्यु ताइपेई सिटीमा भएको समूह ‘बी’को अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भयो। बहराइनको जितमा स्ट्राइकर सामी बस्सम अदीले दुई गोल गर्दा मिडफिल्डर खलिद अल्खलाफ र रक्षक अली अहमद हसनले समान एक गोल गरेका थिए।
यो हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एसियन कप खेल्ने नेपालको सम्भावना समाप्त भएको छ। तीन खेल खेलिसकेको कम्बोडिया र बहराइन तथा दुई खेल खेलेका उज्वेकिस्तानको समान ६ अंक छ। शीर्ष स्थानमा रहने टोली सीधै छनोट हुनेछ। नेपालको चार खेलबाट तीन अंक रहँदा चाइनिज ताइपेईको कुनै अंक छैन।
छनोट प्रतियोगितामा रहेका १० समूहका उत्कृष्ट पाँच उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्। त्यसका लागि उज्वेकिस्तान, कम्बोडिया र बहराइन तीनै राष्ट्रको सम्भावना यथावत् छ।
उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। दोस्रो खेलमा समीर तामाङले ह्याट्रिक गर्दा घरेलु टोली ताइपेईलाई ३–१ ले हराएको हो। तेस्रो खेलमा उज्वेकिस्तानसँग ६–० को लज्जास्पद हार व्यहोर्न पुगेको थियो।