पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ। उनले भने, ‘पश्चिम क्षेत्रमा काम सम्पन्न भइसकेको छ भने पूर्वमा कामको तयारी गरिएको छ।’ वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरू मर्मत, सडक सरसफाइ र सडकछेउका झाडी पन्छाउने काम सुरु गरिएको उनले बताए। 

पुनले निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताए । डुंगा सफारी, चरा हेर्ने (बर्ड वाचिङ), हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उनले जानकारी दिए। सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उनले बताए। 

 प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ ।’ मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिने उनले बताए। 

यही असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थितिअनुसार निर्णय गरिने पुनले उल्लेख गरे। उनले भने, ‘पानी परिरहे पनि दसैँअघिसम्ममा निकुञ्ज क्षेत्रमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।’

सुझावित समाचार