अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत दिनका लागि सात अर्ब अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । तीनवर्षे ऋण कार्यक्रमअन्तर्गत पाकिस्तानी अर्थतन्त्रलाई स्थिर बनाउन जारी प्रयासलाई समर्थन गरी अब्बल आर्थिक नीति र सुधार आवश्यक पर्ने आइएमएफले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
आइएमएफका अनुसार पाकिस्तान गत जुलाईमा उक्त सम्झौतामा सहमत भएपछि ऋण स्वीकृत भएको हो । बुधबार न्युयोर्कमा राष्ट्रसंघको महासभामा बोल्दै पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले साउदी अरब, चीन र संयुक्त अरब इमिरेट्सको समर्थनका कारण सम्झौता भएको प्रतिक्रिया दिए । वार्ताको अन्तिम चरणमा आइएमएफका सर्तहरू चीनसँग सम्बन्धित थिए । चिनियाँ सरकारले यस अवस्थामा समर्थन गरेकोमा उनले आभार व्यक्त गरे ।
लामो समयदेखि राजनीतिक र आर्थिक संकटको चक्रमा फसेको पाकिस्तानको वैदेशिक ऋण २५० अर्ब डलरभन्दा बढी भएको आइएमएफको पछिल्लो प्रतिवेदनले जनाएको छ । आइएमएफका अनुसार पाकिस्तानले तिर्नुपर्ने ऋणमध्ये लगभग ४० प्रतिशत ऋण विदेशी मुद्रामा बाह्य ऋणदातालाई तिर्नुपर्नेछ । रिपोर्टअनुसार यसको सबैभन्दा ठुलो एकल विदेशी ऋणदाता चीन र चिनियाँ वाणिज्य बैंकहरू हुन् । सन् २०२२ को विनाशकारी मनसुन र बाढीका साथै विश्वव्यापी आर्थिक मन्दीपछि राजनीतिक अराजकताबिच अर्थतन्त्र संकुचित भएपछि पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ ।
छिमेकी देशबाट अन्तिम ऋणकासाथ आइएमएफको उद्धार प्याकेजले पछिल्लो समय पाकिस्तानी अर्थतन्त्रलाई भरथेग गरिरहेको छ । तर, अझै पनि उच्च मुद्रास्फीति र सार्वजनिक ऋणका कारण यसको वित्तीय अवस्था संकटग्रस्त अवस्थामा छ । पाकिस्तानले नयाँ ऋणका लागि आइएमएफ अधिकारीसँग महिनौँसम्म छलफल गरिरहेको थियो । यसै वार्तालाई सफल बनाउन पाकिस्तानी सरकारले देशको संकटग्रस्त ऊर्जा क्षेत्रलाई उकास्ने, करवृद्धि गर्नेलगायत सर्तमा सहमति जनाएको छ ।