जुनारमा सुँडे पुतलीको प्रकोप, पुतली मारेर बुझाउनेलाई पुरस्कार

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

सिन्धुलीको जुनार क्षेत्रमा सुँडे पुतलीको प्रकोप देखिएको छ । कमलामाई नगरपालिका– ३ चपौलीमा देखिएको सुढे पुलती अहिले गोलन्जोरका विजयछाप, खनियाँखर्क, नयाँखर्क, तिनकन्या, भदौरे, कुभिन्डे, बेखटाँडी, रानीखोला, ओख्ले, किराँते, सान्नेलगायत क्षेत्रमा फैलिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय इकाइ सिन्धुलीका प्रमुख यामकुमार श्रेष्ठका अनुसार जुनार क्षेत्रको उत्पादन नौ हजार नौ सय टनमध्ये करिब ६ प्रतिशत जुनार पुतलीले नष्ट गरेको छ । पुतली साँझ ७ बजेदेखि १० बजे निकै सक्रिय हुने गरेको छ । मध्य साउनदेखि पुतलीको प्रकोप देखिए पनि हालसम्म नियन्त्रण हुन सकेको छैन । पुतली भगाउन बगैँचामा आगो बाल्ने वा धुँवा आउने बस्तु डढाउने, बत्ती बाल्ने गरिए पनि प्रभावकारी हुन सकेको छैन । पुतली जुनारको दानामा बसेपछि नअघाउन्जेल बस्छ । यो पुतलीले सुँड गाढेको दाना एक–दुई दिनमा झर्ने गरेको छ ।

अब पुतली समात्ने वा मार्ने विधि उपयुक्त देखिएको श्रेष्ठले बताए । समात्ने र मार्ने वा हिर्काएर मार्ने विधि नै प्रभावकारी देखिएको बताउँदै श्रेष्ठले भने, ‘पछिल्लोपटक हामीले मुसा मार्न प्रयोग हुने खोटो ल्याएर केरामा राख्ने, मालाथिन प्रयोग गर्नेदेखि समात्ने वा मार्ने काम गरिरहेका छौँ ।’ सिन्धुलीमा सुँडे पुतलीको वासस्थान वा कहाँ फूल पार्छ भनेर पत्ता लगाउन सकिएको छैन । पुतली प्रजातिले गुर्जोजस्ता लहरामा फूल पार्ने र आफ्नो जीवनचक्र त्यहीँ पूरा गर्ने भनिए पनि यहाँ गुर्जोको बोटमा सुँडे पुतलीको जीवनचक्रको अवशेष फेला नपरेको उनले बताए । विज्ञहरूका भनाइअनुसार यो पुतली जुनारको बोटबाट ४०–४५ फिट माथिसम्म उड्ने र त्यसपछि तेस्रो उड्ने गर्छ । पुतली एक रात वा दिनमा ३५ किलोमिटर टाढासम्म उड्ने गरेको पाइएको श्रेष्ठले बताए । 

गोलन्जोर गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडामा बुझाए पुरस्कार दिने घोषणा गरेको छ । यसरी प्रतिपुतली दुई रुपैयाँ पाइने गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताए । ‘सुँडे पुतलीले जुनार, सुन्तलाको फलमा बसेर क्षति पुर्याउने गरेको छ । तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरू उपाय छैन,’ उनले भने, ‘पुतली समातेर मार्नेलाई दुई रुपैयाँ नगद प्रोत्साहनस्वरूप प्रदान गर्ने निर्णय गरेका छौँ ।’ 

सुँडे पुतलीका कारण आफ्नो बगैँचामा फलेका जुनारमध्ये ७० प्रतिशत नष्ट भएको गोलन्जोर गाउँपालिका– ५ का कृषक निर्मल रम्तेलले बताए । आफूले ३५ रोपनीमा १८० बोटबाट फल लिन सुरु गरेको भए पनि यस वर्ष ७० प्रतिशत नष्ट भएको रम्तेलले बताए । उनका अनुसार एउटा बोटले सरदर ७० देखि ८० किलो फल उत्पादन दिन्छ । ‘यही अवस्था रहिरह्यो, प्रकोप घटेन भने जुनार बेच्न त के आफूले खान पनि नपाइएलाजस्तो छ,’ उनले भने । 

सांसद थिङले गराइन् सरकारको ध्यानाकर्षण
कांग्रेस सांसद सुशीला थिङले सिन्धुलीमा लगाइएको जुनार खेतीमा सुँडे पुतलीको प्रकोप फैलिएको भन्दै नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको  बैठकमा बोल्दै उनले करिब ४० करोड आम्दानी गर्ने किसानलाई अहिले मर्का परेको बताइन् ।

‘यसपालि जुनारमा राति सुँडे पुतली आएर रस चुस्ने, जुनार कुहिएर झर्ने भएपछि किसान चिन्तित भएका छन् । उत्पादन घट्नेछ । त्यो पुतली नियन्त्रण अझै भएको छैन । केन्द्रबाट कृषिविज्ञ खटाउनुपर्छ,’ उनले भनिन्, ‘किसानको क्षति विवरण यकिन गरी राहतको व्यवस्था गर्न सरकारसँग माग गर्छु ।’ 

See More On

सुझावित समाचार