नेपाल निर्माण व्यवसायी महासंघले सरकारी भुक्तानी रोकिँदा मुलुकको निर्माण उद्योग अत्यन्त जटिल अवस्थामा पुगेको बताएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चाडबाड नजिकिँदासमेत सरकारले बक्यौता भुक्तानीको संकेत नदेखाएको बताएको छ। फलस्वरूप हजारौँ व्यवसायी र उनीहरूमा आश्रित लाखौँ मजदुरको बिचल्ली हुने अवस्था आएको महासंघको भनाइ छ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट अझै ४५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। ‘विगत लामो समयदेखि राज्यले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताललगायतका आयोजनाहरूको निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अर्ब रहेको छ,’ उनले भने।
सरकारले गत आवको बक्यौतामध्ये आंशिक भुक्तानी चालू आवमा भने दिएको छ। तर, त्यो चालू आवमा विनियोजित बजेटबाट मात्र भुक्तानी भएको छ। त्यो अवस्थामा चालू आवमा हुने निर्माण कार्यको भुक्तानीको समस्याले पुनः जटिल रूप लिन सक्ने उनको भनाइ छ।
विगत दुई वर्षदेखि नै निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने सम्पूर्ण रकम तत्काल निकास गर्ने प्रधानमन्त्री, उपप्रधानमन्त्री मन्त्रीहरूलगायतले पटक-पटक प्रतिबद्धता जनाए पनि कुनै सुनुवाई नभएको महासंघ अध्यक्ष सिंहले बताए।
सरकारी रबैयाका कारण राज्यमाथिको निर्माण व्यवसायीहरूको ‘भरोसा’ नै टुट्ने अवस्थामा पुगेको उनको भनाइ छ।
आर्थिक वर्ष ०७९/८० र ०८०/८१ देखिकै भुक्तानी गर्न बाँकी रहेको अवस्थामा समेत अहिले विनाबजेटका टेन्डर आह्वान हुँदा निर्माण उद्योगमा अझ प्रतिकूल अवस्था उत्पन्न भएको उनले बताए।
समयमा भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋणको किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करसमेत बुझाउन नसकेको महासंघको भनाइ छ । त्यसले समग्रमा आपूर्ति चक्र नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति बनको महासंघले बताएको छ।
भुक्तानी नपाएर आक्रान्त भएका व्यवसायीहरूले स्वतः स्फुर्त रूपमै राजमार्गमा निर्माण उपकरणसहित धर्ना दिने, नियोक्तासँग मुठभेड गर्नेजस्ता अप्रिय घटनाहरू हुन थालिसकेको महासंघको भनाइ छ। राजनीतिक नेतृत्वले हचुवाका भरमा आयोजनाहरू ल्याउँदा निर्माण उद्योगमा समस्या थपिँदै गएको अध्यक्ष सिंहले बताए।
राज्यसँग अहिले ६ खर्बभन्दा बढीका आयोजना भए पनि स्रोत सुनिश्चितता नभएको अध्यक्ष सिंहले जानकारी दिए। ‘एकातर्फ नियोक्ताले भुक्तानी दिन नसक्ने, साइट उपलब्ध नगराउने र अर्कोतर्फ सोही ठेक्काहरूलाई लिएर दिनहुँ निर्माण व्यवसायीहरूलाई कालो सूचीमा राख्ने, ठेक्का तोड्ने सूचना जारी गर्ने, बैंक जमानत जफत गरी व्यवसायीहरूलाई आतंकित पार्नेजस्ता कार्यले निर्माण उद्योगमाथि राज्यको ‘निर्मम’ व्यवहार देखिएको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समग्रमा सरकारी निकायको समन्वय अभाव तथा कार्यसम्पादनमा हुने कमी कमजोरीकै कारण परियोजना रुग्ण भई निर्माण व्यवसायीहरू मात्र प्रताडीत हुने परिपाटीले निर्माण उद्योग आक्रान्त भएको महासंघको दाबी छ।
राज्यले निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्न नसक्ने हो भने सम्बन्धित आयोजनाहरूलाई रुग्ण आयोजनामा समावेश गरी सार्वजनिक खरिद ऐनबमोजिम त्यस्ता आयोजनालाई सुविस्ताका आधारमा अन्त्य गर्दै फरफारकको व्यवस्था हुनुपर्ने माग महासंघले राखेको छ।
महासंघले आफ्ना पछिल्ला माग समेट्दै कार्यबाहक प्रधानमन्त्री, मन्त्रीलगायतलाई ज्ञापनपत्र बुझाइएको र अब पनि माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको जानकारी दिएको छ।
म्याद थप व्यवसायीका कारण नभई राज्यकै कारण हुने भन्दै अध्यक्ष सिंहले म्याद थप हुँदा निर्माण व्यवसायीमाथि नै आर्थिक व्ययभार बढ्ने दाबी गरे। पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले भुक्तानीको समस्याले विकराल रूप लिइसकेको बताए। त्यो समस्या समाधान हुने गरी सञ्चारमाध्यम पनि अघि बढ्नुपर्ने उनको भनाइ छ।
महासंघका एसोसिएट उपाध्यक्ष रामजी पन्त ‘मुकेश’ ले सरकार निर्माण व्यवसायीहरूलाई भुलभुलैयामा राखी आफ्नो कर्तव्यबाट विमुख हुँदै गएको टिप्पणी गरे।
महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले मुलुकमा दुई ठुला मुख्य दलको संलग्नतामा सरकार बन्दासमेत निर्माण व्यवसायीहरूको समस्या समाधान नहुनु बिडम्बना भएको बताए। व्यवसायीहरूको ठुलो रकम भुक्तानी नहुँदा समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको महासंघका प्रवक्तासमेत रहेका उपमहासचिव घिमिरेले बताए।