विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

बिहिबार, १० असोज, २०८१
डिजिटल संस्करण

देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु. २१ खर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कुल विदेशी मुद्राको सञ्चिति रु. २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो। यो विवरण गत साउन मसान्तसम्मको हो।

गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु. २० खर्ब ४१ अर्ब १० करोडबराबर थियो। त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु. २० खर्ब ९२ अर्ब २२ करोडबराबर पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोडबराबर पुगेको छ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु. १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति रु. दुई खर्ब आठ अर्ब ७९ करोड छ।

चालू आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव सात महिनाको वस्तु आयात र १३ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ। रासस

सुझावित समाचार