बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । पछिल्लो समय सुनको मूल्यले हरेक दिन पुरानो रेकर्ड तोड्दै निरन्तर नयाँ रकेर्ड कायम गर्दै आएको छ । सोहीक्रममा बुधबार पनि सुनको मूल्य नयाँ विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६० हजार चार सय रुपैयाँ तोकेको थियो, जुन हालसम्मकै उच्च हो । मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार सात सय रुपैयाँ थियो । बुधबार त्यो सात सय रुपैयाँले बढेको महासंघको भनाइ छ ।
मूल्य बढेपछि नेपाली बजारमा सुनका गरगहनाको माग पनि न्यून भएको छ । दसैँ–तिहारजस्तो चाडपर्व नजिकिँदै गर्दा पनि सुनका गरगहना बनाउने ग्राहकको संख्या बढ्न सकेको छैन । सुन कारोबारमा कमी आएसँगै आयात पनि शून्यप्राय भएको छ । भदौमा सुनको आयात नै नगन्य देखिएको छ । भदौमा ५० ग्राम मात्रै सुन आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ । त्यो सुन बैंकले नभएर विदेशबाट आउने कुनै व्यक्तिले ल्याएको हुन सक्ने विभागका अधिकारीहरू बताउँछन् ।नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ । बैंकहरूले ग्राममा नभएर एकै पटक २५–५० केजीभन्दा बढी सुन आयात गर्छन् । त्योअनुसार भदौमा व्यावसायिक प्रयोजनका लागि सुन आयात नभएको देखिन्छ । गत असारमा पनि सुनको आयात शून्य थियो ।
चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा एक सय केजी १०५ ग्राम सुन आयात भएको थियो । त्यसको मूल्य भने एक अर्ब चार करोड २७ लाख ६६ हजार रुपैयाँ थियो । भदौ मसान्तसम्म आउँदा त्यो ५० ग्रामले बढेर १०० केजी १५५ ग्राम पुगेको छ । त्यसको मूल्य भने एक अर्ब चार करोड ४३ लाख ८९ हजार रुपैयाँ छ । त्यसअनुसार भदौमा पाँच लाख २३ हजार रुपैयाँको ५० ग्राम मात्रै सुन आयात भएको देखिन्छ ।
अहिले मूल्य बढेका कारण ग्राहकबाट सुनका गरगहनाको माग न्यून छ । त्यो माग पुरानै स्टकको सुनले धान्न पुगेको छ । त्यसले गर्दा सुनको आयात नभएको व्यवसायीहरू बताउँछन् ।
गत आवको साउनमा २०० र भदौमा ३०० केजी सुन आयात भएको थियो । त्यसको आयात मूल्य चार अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँ थियो । त्यसअनुसार गत आवको समीक्षा अवधिको तुलनामा चालू आवको दुई महिनामा सुनको आयात घटेको देखिन्छ । विभागका अनुसार गत आवभर २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँको दुई हजार ६५२ केजी सुन आयात भएको थियो ।