मौसमी गतिविधि सक्रिय बनेसँगै झापा, दाङ, रोल्पा, सल्यान, बाजुरा र कञ्चनपुरमा चट्याङ खस्दा पाँच घाइते भएका छन् ।
छुट्टाछुट्टै ठाउँमा चट्याङ खस्दा २४ घण्टामा ६ को मृत्यु भएको छ । मौसमी गतिविधि सक्रिय बनेका वेला मंगलबार राति र बुधबार चट्याङले झापा, दाङ, रोल्पा र बाजुरामा एक–एकजनाको ज्यान गएको छ । कञ्चनपुरमा दुईजनाको मृत्यु भएको छ । यी जिल्लासहित सल्यानमा चट्याङमा परी पाँचजना घाइते भएका छन् ।
बुधबार बिहान कञ्चनपुरको लालझाडी गाउँपालिका र दोधाराचाँदनी नगरपालिकामा चट्याङ खस्दा दुईजनाको मृत्यु भएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता उमेशराज जोशीका अनुसार दोदा नदीमा माछा मार्ने क्रममा चट्याङ खस्दा लालझाडी गाउँपालिका– १ परासनकी २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । घाइते भएकी रानाको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो । मोटरसाइकलमा घर जाँदै गरेका दोधाराचाँदनी नगरपालिका– ६ दोधाराका ३४ वर्षीय यमबहादुर सुनारको चट्याङले ज्यान लिएको छ । उनीसँगै रहेका ३६ वर्षीया जगत सुनार घाइते भएका छन् । घाइतेको दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
प्रहरीबाट प्राप्त विवरणअनुसार मंगलबार राति चट्याङ खस्दा झापा दमक नगरपालिका– ४ का ३६ वर्षीय कुमार मोतेको ज्यान गएको छ । भान्साकोठाअगाडि उभिएका वेला चट्याङले बेहोस भएका मोतेको उपचारका क्रममा दमक अस्पतालमा ज्यान गएको हो ।
दाङको घोराही उपमहानगरपालिका– ११ खुङकोटमा घरमा चट्याङ खस्दा नीमकली साहूका तीन वर्षीय छोरा समीरको ज्यान गएको छ । उनको उपचारका क्रममा ज्यान गएको हो । चट्याङबाट घाइते नीमकली र उनकी ६ वर्षीया छोरी सविनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका– ५ जुगार हान्जाबांगामा चट्याङ लागेर ४२ वर्षीया चन्द्रकली वलीको ज्यान गएको छ । उनी डन्डकली डाँगीका घरमा पाहुना लाग्न गएकी थिइन् । चट्याङले इलाका प्रहरी कार्यालय खुंग्रीको सञ्चार सामग्रीमा पनि क्षति पुगेको छ ।
बाजुराको बुढीगंगा नगरपालिका– ४ बानेगाउँमा मंगलबार मध्यराति चट्याङ खस्दा ६० वर्षीय खम्ब कटुवालको ज्यान गएको छ । गौमुल गाउँपालिका– ४ मा चट्याङले साउनी रोकाया घाइते भएकी छन् । पाँच पशुचौपायासमेत मरेका छन् ।
सल्यानको कपुरकोट गाउँपालिका– ५ जामुनेमा चट्याङ लागेर २५ वर्षीया मीनाकुमार पुन घाइते भएकी छिन् । घरबाहिर बसेका वेला चट्याङले घाइते उनको आधारभूत अस्पताल कपुरकोटमा उपचार भइरहेको छ ।
दसैँको मुखमा बाढीपहिरोको जोखिम
उत्तरार्द्धमा मनसुन सक्रिय बन्दा दसैँको मुखमा बाढीपहिरोको जोखिम बढेको छ । मनसुनी प्रणाली कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली (हावाको चाप कम भएको ठाउँ, जहाँ वर्षा गराउने बादल बन्न पुग्छ)सँगै जलवाष्पयुक्त हावा नेपाल आउँदा बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि आइतबार बिहानसम्म देशका अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित सिमसिमदेखि मुसलधारे वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ ।
गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरीघोप्टे तहको वर्षाको चेतावनी दिइएको छ । यस अवधिमा तराईमा हावाहुरी चल्नेछ ।