कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्रीको सम्बोधन

इतिहासदेखि छिमेक सम्बन्धबारे चर्चा, युवालाई नेतृत्व हस्तान्तरणबारे विषयान्तर

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय महासभाका लागि न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओलीले मंगलबार कोलम्बिया विश्वविद्यालयमा प्रस्तुतीकरण दिएका छन् । सुरुमा लिखित र त्यसपछि प्रश्नोत्तरसहितको उनको प्रस्तुतीकरण अपेक्षाकृत देखिएन भने कतिपय विषयमा विषयान्तर भए । 

सुरुमा नेपालको एकीकरणको इतिहासबाट प्रस्तुति सुरु गरेका ओलीले राणा शासन, पञ्चायत, बहुदलीय लोकतन्त्र र गणतन्त्रमा नेपाल पुगेको पृष्ठभूमि बताए । र, अब आर्थिक विकासमा नेपाल केन्द्रित रहेको उनको भनाइ थियो । उनले अमेरिकाको स्वतन्त्रता घोषणाकै समयमा नेपालको भौगोलिक एकीकरण भएको पनि उल्लेख गरेका थिए । 

उनले नेपालको नयाँ संविधानले सात दशकभन्दा बढी समयदेखिको राजनीतिक त्याग र संघर्षलाई लिपिबद्ध गरेको र स्थापित विस्तृत लोकतन्त्रले सबै जनताको समान अधिकार, अवसर, सुरक्षा र आत्मसम्मान दिएको व्याख्या गरे । ‘नेपाल गतिशील लोकतन्त्र हो । नेपालमा मिहिनेती युवा पुस्ता छ । छिमेकी भारत र चीन आर्थिक पावरहाउस छन् । म प्रमुख दुई मुख्य राजनीतिक दलको गठबन्धनको प्रधानमन्त्री छु, जसले लोकतन्त्र र देश निर्माणमा ठूलो भूमिका निर्वाह गरेको छ,’ ओलीले प्रश्नोत्तर सत्रमा भने, ‘हाम्रा युवा उपयुक्तः रोजगार र शिक्षाका लागि बाहिर गएका छन् । भविष्यमा उनीहरू फिर्ता हुनेछन् । नेपाल आउनेभन्दा बाहिर जाने युवाको संख्या पक्कै ठुलो छ । तर, राम्रो शिक्षा वा रोजगारका लागि बाहिर गएका युवा तत्काल नआए पनि भविष्यमा फर्किनेछन् ।’ 

एकजना सहभागी विद्यार्थीले ‘नेपाललाई युवा चाहिन्छ भन्नुहुन्छ, तर तपाईंजस्ता पुरानो पुस्ताले राजीनामा दिएर युवालाई किन नेतृत्व दिन तयार हुँदैनन् ?’ सोध्दा ओलीले जवाफ दिएनन् । ओलीले नेपालमा उद्यमशीलता, लगानीका लागि युवाहरूलाई ठाउँ दिइएको जवाफ दिए । 

‘पहिला हाम्रो देशलाई माया गर्नुपर्छ । देश भनेको आमा हो । गरिब आमालाई छाडेर जानुहुँदैन । मैले उनको समस्या हेर्नुपर्छ र समाधान गर्नुपर्छ । म परिस्थिति बदल्न सक्छु भन्ने सोच्नुपर्छ,’ ओलीले भने, ‘युवाहरू समस्याबाट भाग्ने होइन, सामना गर्नुपर्छ र त्यसमाथि विजय हासिल गर्नुपर्छ ।’ धेरै देशको जन्म हुनुभन्दा अघि नेपालमा शिक्षा, औषधि, उपचारसहितको गर्विलो इतिहास रहेको उनले व्याख्या गरे । ‘विभिन्न स्वार्थी र निरंकुश शासकले गर्दा हामी अघि बढ्न सकेनौँ । जनताले निरंकुश शासन फालेर लोकतन्त्र ल्याइसके । यो गिफ्ट होइन, जनताको लडाईंपछिको फल हो,’ उनले भने, ‘हामीले युवालाई उद्यमशीलता, स्टार्टअप, ऋण र अन्य अवसर उपलब्ध गराएका छौँ । तलब नेपालमा धेरै छैन । बजार पनि त सस्तो छ ।’  

युवाविना देशलाई रूपान्तरण गर्न नसकिने र नेपाल अति कमविकसित अवस्थाबाट विकासशीलमा जान पनि नसक्ने उनको तर्क थियो । नेतृत्व हस्तान्तरणबारे उनी केही बोलेनन् । बरु भने, ‘उद्यमशीलता विस्तार गर्न कोसिस गर्दै छौँ । यसका लागि प्रमाणपत्र राखेर ऋण लिने वा योविना नै साना उद्यमका लागि ऋण प्रवाह गर्न खोज्दै छौँ । युवाहरूका लागि नयाँ स्टार्टअप र सानो उद्यमशीलता विकास गर्न खोज्दै छौँ ।’

अर्को सन्दर्भमा उनले छिमेकी भारत र चीनसँग समाधान गर्न नसकिने कुनै समस्या नरहेको बताए । ‘छिमेकीहरू छिमेकी हुन् । छिमेकी बदल्न सकिँदैन । उनीहरू हाम्रा शत्रु होइन, मित्र हुन् । हाम्रा समस्या, गुनासा र भावना उनीहरूसँग राख्नुपर्छ । उनीहरूसँग खुला रूपमा प्रमाण र तथ्यसहित कुरा गर्न सकिन्छ । हामी तथ्य र सत्यका आधारमा डिल गर्न सक्छौँ,’ ओलीले भने, ‘हामी राष्ट्रिय स्वार्थ, सार्वभौमिकता त्याग्न सक्दैनौँ । हामी स्वतन्त्रता दिवस मनाउँदैनौँ किनभने हामी सधैँ सार्वभौम छौँ । यो गर्वको कुरा सबैले बुझ्नुपर्छ । यो गर्वलाई समुन्नतिमा बदल्नुपर्नेछ । हामी असल छिमेकी हुन चाहन्छौँ । हामी कतैतिर ढल्किँदैनौँ र छिमेकीहरूका लागि समस्या सिर्जना गर्न चाहँदैनौँ ।’ 

ओलीले आमविनाशकारी हतियारहरू बन्द हुनुपर्ने बताए । ‘यो लामखुट्टे मार्न बनाइएको होइन । यो केका लागि हो, सबैलाई थाहा छ । यो निर्मूल हुनुपर्छ,’ उनले भने, ‘इजरायल र हमासबिचको युद्धमा निर्दोष वृद्ध, केटाकेटी, अस्पतालका बिरामी मारिए । हामी कुनै देशको विरुद्धमा छैनौँ, युद्धको विरोधमा र शान्तिका पक्षमा छौँ ।’ 

ओली मंगलबार सुरु भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ सत्रमा सहभागी भएका छन् । ओलीलाई संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उपप्रमुख निशा विस्वालले भेट गरेकी छिन् । 

परराष्ट्रमन्त्रीको आग्रह : विपिन जोशीको रिहाइका लागि पहल होस् 
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टाइनस्थित हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । असंलग्न राष्ट्रहरूको संगठन (नाम) को मन्त्रीस्तरीय बैठकलाई सोमबार न्युयोर्कमा सम्बोधन गर्दै उनले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी छिन् । उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतीक्षामा रहेको बताइन् । गत वर्ष असोजमा हमास समूहद्वारा इजरायलमा भएको आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमास समूहले जोशीलाई अपहरण गरी लगेका थिए । नेपाल सरकारले हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको छ । 

सुझावित समाचार