जनताले समयमा नै स्वास्थ्य सेवा लिने वातावरण बनाऊँ : मुख्यमन्त्री पाण्डे

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले समयमा नै स्वास्थ्य सेवा लिने वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए । स्वास्थ्यका कार्यक्रमहरूको गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले  प्रदेशको स्राेतसाधनले भ्याएसम्म स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले गण्डकी प्रदेशले सीमित साधन र स्राेतबिच पनि स्वास्थ्यको विकासलाई अगाडि बढाएको बताए । पाण्डेले हरेक नागरिकको पहुँचसम्म सामान्य स्वास्थ्य उपचार पुर्याउनका लागि संघ र स्थानीय सरकारसँग समन्वय गर्ने बताए । पाण्डेले प्रदेशभित्र सर्ने र नसर्ने रोगहरूबारे स्क्रिन गर्ने स्वास्थ्य मन्त्रालयको सोचअनुसार मुख्यमन्त्री कार्यालयबाट पनि सहयोग हुने बताए ।

उनले आमनागरिकलाई स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गर्दै सबैको साथमा प्रदेश सरकार रहेको बताए। पाण्डेले पछिल्लो समयमा क्यान्सरको अवस्था विकराल बन्दै गएको हुँदा यसको  स्क्रिनका लागि उचित पहल थाल्नका निम्ति स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका थिए । 

‘नागरिकको स्वास्थ्यप्रति हामी स्वास्थ्यकर्मीले चासो राख्नुपर्दछ,’ मुख्यमन्त्री पाण्डेले स्वास्थ्य कार्यालय र अस्पतालका प्रमुखलाई लक्षित गरेर भने, ‘हाम्रो स्राेतले भ्याउने सेवा हामी नै प्रदान गरौँ, यसको वातावरण सिर्जना गर्न प्रदेश सरकारले के सहयोग गर्नुपर्छ त्यो हामी गर्छौँ ।’ उनले पोखरामा एउटा विशिष्टिकृत अस्पताल सञ्चालनका निम्ति पहल थाल्नुपर्ने बताए । जसका लागि संघीय सरकारसँग समन्वय भएको जानकारी दिए। पाण्डेले पछिल्ला दिनमा गण्डकी प्रदेशमा डेँगुको प्रकोप बढ्दै गएको हुँदा यसको नियन्त्रणमा सबै निकायहरूले चासो देखाउनुपर्नेमा जोड दिए ।

उनले गण्डकी प्रदेशमा यस वर्ष मात्र ६ जनाको डेँगुका कारणनै मृत्यु भएको हुँदा यसलाई थप जटिलता उत्पन्न हुन नदिन सबै स्वास्थ्यकर्मीलाई आग्रह गरे। कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको विकासका निम्ति प्राकृतिक चिकित्साको विषयलाई ध्यान दिनुपर्ने बताए । उनले हरेक स्वास्थ्य संस्थाबाट आमनागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउनका निम्ति तीनै तहकाे सरकार तयार रहेको बताए । 

सुझावित समाचार