व्यावसायिक तरकारी खेतीमा रमाएका रेउले

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

सिद्धकुमाख गाउँपालिका– ३ ढोरचौरका ४२ वर्षीय कुलाराम रेउलेको परिवारलाई घरखर्च धान्न धौधौ हुन्थ्यो । गाउँमा उत्पादन भएको अन्नले वर्षभरि खान पुग्थेन । एकातिर छाक टार्ने पिरलो, अर्कोतिर परिवारका कुनै पनि सदस्यको रोजगारी नहुँदाको चिन्ताले रेउलेलाई वर्षौँसम्म सतायो । तर, हिजोआज व्यावसायिक तरकारी खेतीमा लागेपछि उनको अवस्था बदलिएको छ । 

धान र गहुँको साटो तरकारी खेती गर्न थालेपछि उनको आम्दानी कैयौँ गुणाले बढेको छ । आम्दानी बढेपछि छाक टार्नेमा होइन, रोजगारी नहुनुको पीडा पनि हराएको छ । व्यावसायिक तरकारी खेतीमा जटेपछि उनले वार्षिक ४० देखि ५० लाखसम्म आम्दानी गर्दै आएका छन् । उनले भने, ‘पुरानो खेती छाडेपछि हाम्रा दिन पनि फेरिए । वार्षिक ४० देखि ५० लाखसम्म आम्दानी हुन्छ । सबै खर्च कटाएर १६ –१७ लाख बचत भइरहेको छ ।’ 

सुरुवातमा घरकै करेसाबारी हुँदै केही रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका उनले अहिले ६० रोपनी जग्गामा विभिन्न जातका तरकारी, अदुवा, बेसार लगाउँदै आएका छन्।  विगतमा विभिन्न अभाव र दबाब झेल्दै आएका रेउले व्यावसायिक तरकारी खेतीमा लागेपछि जिल्लाकै उत्कृष्ट किसानको रूपमा परिचित भएका भएका छन् । 

तरकारी खेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए । उनले भने, ‘तरकारी खेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन । तरकारी खेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको छ । 

१५ जनालाई रोजगारी
विगत १६ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका कुलारामले आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेको बताए । हिउँदमा प्याज, लसुन, बन्दा र काउली लगाउने गरेका छन् भने बर्खाको समयमा भने टमाटर, खुर्सानी, बोडी, काँक्रा, सिमी र करेलाको व्यावसायिक खेती हुने गरेको छ । 

विगतमा काम खोज्द गरेका उनले अहिले  १५ जनालाई रोजगारी दिँदै आइरहेका छन् । ६० रोपनी क्षेत्रफलमा लगाएको तरकारी घरका सदस्यले मात्र गोडमेलदेखि बजारीकरणसम्म गर्न असम्भव भएपछि १५ जनालाई रोजगारी दिएको छु उनले भने।  तरकारी बिक्री गर्नका लागि उनले आफ्नै गाडीसमेत खरिद गरेका छन् । तरकारी खेतीबाट परिवारका सातजनालाई घरमै रोजगारी मिलेको उनको भनाइ छ। घरका सबैले यही काम गर्छाै । ‘बाहिरका १० जनालाई नियमित रोजगारी दिएको छु,’ उनले भने । 
 

सुझावित समाचार