अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई अर्ब ८० करोड रुपैयाँ (दुई करोड १० लाख अमेरिकी डलर) दिने भएको छ । युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजना, गभर्मेन्ट टु गभर्मेन्टको घोषणा गरिएको हो ।
कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी–नेपाल कन्ट्री प्लान २०२४–२०२८ को पनि उद्घाटन गरिएको थियो, जसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्न अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको थियो । युएसएआइडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले संघीय, प्रदेश र स्थानीय सरकारमार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कृषि विकास कार्यक्रमको योजना र कार्यान्वयनलाई सुदृढ गर्नका लागि नेपाल सरकारको क्षमता अभिवृद्धि गर्नेछ ।
नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी २०२४–२०२८ ले गरिबी, भोकमरी, र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यस कन्ट्री प्लानअन्तर्गत तराई र पहाडका २६ जिल्ला समावेश हुने बताइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले भने, ‘नयाँ ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लानले संयुक्त राज्य अमेरिकाको नेपाल सरकार, यहाँका निजी क्षेत्र र समुदायसँगको विद्यमान साझेदारीलाई सुदृढ गरी समावेशी, उत्थानशील र दिगो विकास हासिल गर्नेछ ।’