सडक स्तरोन्नतिका लागि ८ असोजदेखि १९ असोजसम्म १२ दिन सवारी आवागमनमा रोक
संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी जोड्ने छोटो दूरीको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक १२ दिनका लागि बन्द गरिएको छ । सडक स्तरोन्नति गर्न भन्दै ८ असोजदेखि १९ असोजसम्म १२ दिन उक्त सडकखण्ड भएर चल्ने सवारीसाधानलाई आवागमनमा रोक लगाइएको हो ।
दक्षिणकाली नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधनलाई गुड्न रोक लगाइएको जनाएको छ । सूचनामा दक्षिणकाली–छैमले खण्ड कालोपत्रे गर्नुपर्ने भएकाले सवारीसाधन गुड्न रोक लगाइएको उल्लेख गरिएको छ ।
दक्षिणकालीका नगर प्रमुख मोहन बस्नेतद्वारा हस्ताक्षरित सूचनामा उक्त सडक खण्ड भएर चल्ने सवारी चापको कारण कालोपत्रे गर्ने कार्यमा बाधा पुग्ने भएकाले तत्कालका लागि वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ ।
कालोपत्रे गर्ने काम नसकिउन्जेल उक्त सडकखण्ड भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोगमा सहजीकरण गरिदिन नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौं र मकवानपुरलाई समेत आग्रह गरेको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको उक्त सडक प्रादेशिक सडक गुरुयोजनाअन्तर्गतको प्रदेश लोकमार्ग कायम गरिएको छ ।