प्रेरक प्रसंग : देश जोड्ने सूत्र

मंगलबार, ८ असोज, २०८१
डिजिटल संस्करण

एक दिन विनोबा भावे भएको स्थान कलेजका केही विद्यार्थी आए । उनलाई विद्यार्थीको क्षमता जाँच्ने र उनीहरूलाई केही नौलो ज्ञान दिने विचार मनमा आयो । एकछिन सोचेर उनले ती विद्यार्थीलाई कागजका केही टुक्रा दिए । अनि उनले भने, ‘मैले यहाँ कागजका केही टुक्रा जम्मा गरेको छु । अब तिमीहरू यी टुक्रा जोडेर भारतको नक्सा बनाऊ ।’

विद्यार्थीले धेरै बेरसम्म प्रयास गरे तैपनि कागजका ती टुक्रा जोडेर भारतको नक्सा बनाउन सकेनन् । छेउमै बसेर एक युवकले उनीहरूका यी सब क्रियाकलाप हेरिरहेका थिए । उनीहरूले हार खाइसकेपछि ती युवकले केही साहस गरेर आचार्य विनोबासँग भने, ‘यदि तपाईं अनुमति दिनुहुन्छ भने म यी टुक्रा जोडेर भारतको नक्सा बनाउन सक्छु ।’

विनोबाले तत्काल उनलाई अनुमति दिए । उनको आज्ञा पाएपछि केही क्षणमै ती युवकले कागजका ती टुक्रा जोडेर देशको नक्सा तयार गरिदिए ।

यो सब देखिसकेपछि विनोबाले ती युवकलाई सोधे, ‘तिमीले यति छिटो कागजका यी टुक्रा कसरी जोड्यौ ?’ युवकले मन्द हास्यका साथ जवाफ दिए, ‘यी टुक्रामा एकातिर भारतको नक्सा छ भने अर्कातिर एकजना मानिसको चित्र छ । मैले तिनै मानिसको चित्र जोड्दै गएँ, तब हाम्रो देशको यो नक्सा आफैँ जोडियो ।’

यो सुनेर विनोबाले भने, ‘तिमीले एकदम ठिक भन्यौ । यदि हामीले आफ्नो देशलाई जोड्नु छ भने पहिला त्यहाँका सबै नागरिकलाई जोड्नुपर्छ । यदि देशवासी आपसमा जोडिए भने देश आफैँ जोडिनेछ । त्यसका लागि कुनै प्रयास गरिरहनुपर्दैन ।’

सुझावित समाचार