सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जोडिएका पूर्वडिआइजी छविलाल बन्जाडे जाेशीलाई पाँच दिन हिरासतमा राख्न म्याद थप भएको छ।
आइतबार काठमाडाैंबाट पक्राउ गरेर पोखरा ल्याएको कास्की प्रहरीले हिरासतमा राखी अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप पाएको हो। ठगी प्रकरणमा जोडिएका जोशीलाई अनुसन्धानको लागि पोखरा ल्याइएको र म्याद थपसँगै प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। आइतबार राति पोखरा ल्याइएका जोशीलाई म्याद थपका लागि अदालत लगिएकोमा न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक/सेयर होल्डर तथा सञ्चालक जोशीले पोखरा महानगरपालिका– ४ नालाको मुखस्थित सहकारीको सेयर, बचत तथा जगेडालगायत विभिन्न कोषमा हुनुपर्ने रकम हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको छानबिन समितिको ठहर छ।
कास्की प्रहरीको अनुरोधमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडाैंबाट खटिएको प्रहरी टोलीले काठमाडाैं महानगरपालिका– १०, शंखमूलबाट जोशीलाई आइतबार पक्राउ गरेको थियो। काठमाडाैं महानगर–१, नक्साल घर भएका ५९ वर्षका जोशी भागेर विदेश जान लागेको भन्ने गोप्य सूचना पाएसँगै प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।
संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियासँग जोडिएका गितेन्द्रबाबु राई, पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कुमार रम्तेल र जोशीलाई कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको थियो। सोहीअनुसार जोशी पक्राउ परेका हुन्। समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयले आइतबार नै प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको थियो। सोही निर्देशनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।