संविधान संशोधनका लागि राजनीतिक दलबिच छलफलको पहल सुरु : सभामुख घिमिरे

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण
संविधान संशोधनका लागि राजनीतिक दलबिच छलफलको पहल सुरु : सभामुख घिमिरे

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबिच छलफलको पहल सुरु भइसकेको बताएका छन्।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबिच बृहत्तर समझदारीको आवश्यकता रहेको बताए।

त्यस अवसरमा उनले संघीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताए। सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी संगठन सञ्चालनसम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान हुने धारणा राखे।

उनले हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रक्रियालाई टुंगाे लगाउने विधेयक पास गरेको, बजेट समयमै पास गरेको र सहकारीको रकम अपचलनका सम्बन्धमा गठित संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदनसमेत सरकारलाई बुझाएकाले संसद्ले प्रतिकूलताबिच समयमा काम सम्पन्न गरेको बताए।

सुझावित समाचार