प्रधानमन्त्री ओली र राष्ट्रसंघीय महासचिवबिच भेटवार्ता : संक्रमणकालीन न्याय र जलवायु परिवर्तनलगायतका विषयमा छलफल

सोमबार, ७ असोज, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्री ओली र राष्ट्रसंघीय महासचिवबिच भेटवार्ता : संक्रमणकालीन न्याय र जलवायु परिवर्तनलगायतका विषयमा छलफल

गुटेरेसलाई नेपाल भ्रमणको निम्तो । तस्बिर : प्रदीपराज वन्त/रासस

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क गएका प्रधानमन्त्री केपी ओलीले आइतबार राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । महासचिव गुटेरेस र प्रधानमन्त्री ओलीबिच राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै फौज पठाएर नेपालले जनाएको सहभागितादेखि संक्रमणकालीन न्याय, जलवायु परिवर्तन एवं हिमालका विषयमा छलफल भएको छ ।

भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा आफूहरूबिच फलदायी भेटवार्ता भएको उल्लेख गरेका छन् । ‘महासचिव गुटेरेससँग फलदायी भेटवार्ता भयो,’ ओलीले लेखेका छन्, ‘हामीले संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्मका महत्वपूर्ण विषयमा छलफल गर्यौँ ।’ प्रधानमन्त्री ओलीले अझ राम्रो भविष्यका लागि साझेदारी थप सुदृढ हुने विश्वास जनाएका छन् । 

महासचिव गुटेरेसका प्रवक्ताका अनुसार उनीहरूबिच संक्रमणकालीन न्यायको प्रगति र जलवायु परिवर्तनका विषयमा छलफल भएको छ । ‘महासचिवले शान्ति स्थापक मिसनमा नेपालको उल्लेखनीय सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयो र अतिकम विकसित मुलुकहरूका समूहको ग्लोबल कोअर्डिनेसन ब्युरोको अध्यक्षका रूपमा छलफल गर्नुभयो,’ महासचिव गुटेरेसका प्रवक्ताले भेटवार्तापछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरूले जलवायु परिवर्तन र त्यसमा पनि विशेष हिमालका विषयमा छलफल गरे । नेपालको संक्रमणकालीन न्यायको प्रगतिको महत्वबारे महासचिव र प्रधानमन्त्री ओलीबिच छलफल भयो ।’ 

महासचिव गुटेरेसले जलवायु परिवर्तनको विषय संयुक्त राष्ट्रसंघको प्रमुख एजेन्डा भएको बताए । उनले पछिल्लो नेपाल भ्रमणको पनि स्मरण गरेका थिए । प्रधानमन्त्री ओलीले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तासमेत दिएका छन् ।प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी ऐन पारित भएको र अब शान्ति प्रक्रिया विधिवत रूपमा निष्कर्षमा पुग्ने जानकारी दिएका थिए । महासचिव गुटेरेसले शान्ति प्रक्रियाको सफलताका लागि प्रधानमन्त्री ओलीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्रीले पीडितमैत्री ऐन भएको, सर्वोच्च अदालतका आदेश तथा अन्तर्राष्ट्रिय मापदण्डबाट निर्देशित रहेको उल्लेख गर्दै संक्रमणकालीन न्यायका सबै विषय एकैपटक समाधान गर्न लागेको पनि उल्लेख गरेका थिए । 

दिगो विकासलगायतका विषयमा पनि छलफल भएको नेपाली स्थायी नियोगले जनाएको छ । प्रधानमन्त्री ओली आइतबारै संयुक्त राष्ट्रसंघद्वारा आयोजित फ्युचर फर समिटको उद्घाटन समारोहमा सहभागी भएका छन् । समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी थिए । प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गरेका छन् । 

सैन्य सल्लाहकारमा नेपालको उम्मेदवारी 
नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले संयुक्त राष्ट्रसंघमा सैन्य सल्लाहकार पदका लागि आवेदन दिएका छन् । सन् २०२५ मा रिक्त हुने सल्लाहकार पदका लागि राष्ट्रसंघले प्रतिस्पर्धाबाट छनोट गर्नेछ । हाल सेनेगलका जनरल विरेम डिओप सल्लाहकार छन् ।

‘उपरथी अधिकारीले आवेदन दिनुभएको छ । यसमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट हुन्छ,’ सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसी भने । यसअघि नेपाली सेनाबाट रथी चित्रबहादुर गुरुङ उपसल्लाहकार हुँदै कार्यवाहक सल्लाहकार भएका थिए । संयुक्त राष्ट्रसंघको महासभाको समयमा नेपालका तर्फबाट अधिकारीको उम्मेदवारी परेको हो । यो उम्मेदवारी व्यक्तिगतजस्तो देखिए पनि मुलुकको उम्मेदवारी भएको र नेपालले लबिङ गर्न सके यसपटक सम्भावना रहेको जानकार बताउँछन् ।

सुझावित समाचार