रुपन्देही व्यापार संघ सूचना प्रविधि वस्तुगत उपसमितिको आयोजनामा बुटवलमा एकदिने सेयर बजार तथा बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। व्यवसायीहरूलाई सेयर कारोबार तथा बिमाका सम्बन्धमा जानकारी दिँदै सचेत बनाउने उद्देश्यले कार्यक्रम गरिएको संघले जनाएको छ। कार्यक्रममा संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले कुनै पनि व्यवसायमा संलग्न हुँदा त्यसको मान्यता, क्षेत्र र सम्भावनाको बारेमा जानकारी लिएर मात्र हुनु पर्दछ भन्ने कुराको जनचेतना जगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताए।
उनले सेयर बजार र बिमाका विषयमा आमनागरिकहरूमा पर्याप्त जानकारी नभएको अवस्थामा त्यससँग सम्बन्धित संस्थाहरूले जनस्तरमा अभियान थाल्नुपर्ने सुझाव दिए। कार्यक्रममा नेको इन्सुरेन्स लि.का नायब महाप्रबन्धक रमेशबहादुर थापाले बिमा हरेक प्रकारका जोखिममा व्यक्तिले पाउने सुरक्षाको एक अंग भएका कारण यसमा आबद्ध हुने कुरामा सबैको ध्यान जानुपर्ने धारणा राखे ।
कार्यक्रममा महासचिव फर्सुराम पन्थ, सेयर विश्लेषक विक्रम चित्रकार, आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रा.लि. बुटवलका शाखा प्रबन्धक टेकराज भट्टराई, सूचना प्रविधि वस्तुगत उपसमितिका वस्तुगत इन्चार्ज रितेश ज्ञवाली, सूचना प्रविधि वस्तुगत उपसमितिका संयोजक रविलाल पोखरेललगायत सेयर बजार तथा बिमाका बारेमा धारणा राखेका थिए।
त्यस अवसरमा बिमाका सम्बन्धमा नेको इन्सुरेन्स लि.का नायब प्रबन्धक रमेशबहादुर थापा र सेयरका विषयमा सेयर विश्लेषक विक्रम चित्रकारले प्रकाश पारेका थिए।