गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुटवल–नारायणगढ सडकखण्ड विस्तार कार्य एक वर्षभित्र पूर्ण रूपमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुन आइपुगेका मुख्यमन्त्री पाण्डेले मंगलबार जिल्ला प्रशासन कार्यालयमा नवलपुरस्थित सरकारी कार्यालय प्रमुखहरूसँगको भेटघाटका क्रममा यस्तो निर्देशन दिएका हुन्।
कार्यक्रममा सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीका कर्मचारी तथा ठेकेदारको पनि सहभागिता रहेको थियो।
मुख्यमन्त्री पाण्डेले भने, ‘मलाई अरू बहाना थाहा छैन, थप गरिएको समय अवधिको एक वर्षभित्र निर्माण कार्य पूरा गरेर हस्तान्तरण गर्नुपर्दछ।’ बुटवल–नारायणगढ सडकखण्ड विस्तार कार्य हालसम्म ५२ प्रतिशत मात्र सकिएको छ।
मुख्यमन्त्री पाण्डेले आज नै नवलपुरको कावासोतीमा निर्माण सुरु गरिएको नमुना सदरमुकाम स्थलको पनि निरीक्षण गरेका थिए।