सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिष्कृत गर्ने योजनाअनुरूप आफ्नो कर्पोरेट कार्यालयको प्रांगणमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो हब सार्वजनिक गरेका हुन्।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि विना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधाबाट ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त हुनुका साथै समग्र डिजिटल बैंकिङको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
साथै हाललाई कर्पोरेट कार्यालयबाट सुरु गरिएको यस्तो सेवा आगामी दिनमा देशका अन्य स्थानहरूबाट समेत सञ्चालन गरिने योजना रहेको उनले बताए। स्मार्ट हबमा राखिएका मेसिनहरूजस्तै चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ। क्यास डिपोजिट मेसिनबाट रु. एक हजार र पाँच सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ।
सधैँ प्राथमिकता रहेको डिजिटल बैंकिङ सेवाको निरन्तरतास्वरूप बैंकले असाेज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने भएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ। जसमा मोबाइल बैंकिङ प्रयोग गरी हवाई टिकट खरिद गर्ने यात्रुहरूलाई रु. ४०० सम्म क्यासब्याक प्राप्त हुने, बडादसैँमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल दक्षिणा दिँदा सो कारोबारमा रु. १०० सम्म क्यासब्याक प्राप्त हुनेछ।
साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा आकर्षक क्यासब्याक प्राप्त हुने ‘दसैँमा चलाउ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुनुका साथसाथै ‘डिजिटल रेमिटेन्स प्राप्ति अभियान’मा मोबाइल बैंकिङमार्फत प्राप्त गरिएको रेमिटेन्समा आकर्षक क्यासब्याक प्राप्त हुनेलगायत अन्य आकर्षक अफरहरू समावेस गरिएका बैंकले जनाएको छ।
बैंकले हालै मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स भर्च्युअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। भौतिक कार्डविना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भर्च्युअल क्रेडिट कार्डमा रहेको छ।