विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई प्रधानमन्त्रीको निर्देशन

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले विश्वस्तरमा प्रतिस्पर्धा  गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई निर्देशन दिएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताए। 

हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट  पारे । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।

‘एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ । हामीसँग कुरा मात्रै गरेर बस्ने समय छैन । शिक्षा, ज्ञान, तप, योग, सभ्यता, संस्कृति रहेको यस भूमिको शिक्षा अब पछाडि परिरहन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘००७ सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँगाउँमा स्वतःस्फूर्त रूपमा शिक्षा विकासको लहर चलेको थियो, तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ । राणा र राजाहरू आफ्ना ऐसआराम र शासनमा मात्रै बढी रमाएका थिए । अहिले गणतन्त्र आइसकेको छ । यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो ।’

ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ आज देशभर शिक्षा दिवस मनाइएको छ । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर पछिल्ला वर्षमा असोज २ गतेलाई शिक्षा दिवस मनाउन थालिएको हो ।

सुझावित समाचार