भारत प्रशासित जम्मु–कस्मिरमा १० वर्षपछि बुधबार विधान सभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ। सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो।
त्यसवेलादेखि संघीय रूपमा नियुक्त गभर्नरले यस क्षेत्रलाई नियन्त्रण गर्दै आएका छन्। एक दशकमा भएको पहिलो विधान सभाको निर्वाचनलाई धेरैले व्यावहारिक नीतिभन्दा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा हेरेका छन्।
श्रीनगरको मुख्य सहरनजिकै पुल्वामामा मतदान गर्ने पहिलो मतदाता ३१ वर्षीया नाभिद पाराले भनिन्, ‘१० वर्षपछि हाम्रो आवाज सुनिने भएको छ। म मेरो आवाजको प्रतिनिधित्व गर्न चाहन्छु।’
३५ वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कस्मिर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ। मोदीले जनतालाई ‘भारी संख्यामा मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन’ आग्रह गरेका छन्।
विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। करिब एक दशकपछि जम्मु–कस्मिरमा तीन चरणमा हुने निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।
जम्मु–कस्मिरमा सेप्टेम्बर २५ मा दोस्रो चरण र अक्टोबर १ मा तेस्रो चरणका मतदान हुनेछन्।