लुम्बिनी प्रदेश योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका– ८ निवासी डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस्तै, बैठकले सदस्यहरूमा रोल्पा परिवर्तन गाउँपालिका– ६ निवासी डा. सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका– १६ निवासी भुवन चौधरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका– १८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।

बैठकले दाङ जिल्ला शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नं. ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारलाई सिफारिस गरेर पठाउने निर्णय गरेको छ। गाउँपालिकाको १५औँ गाउँसभाको दुईतिहाइ बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पास गरेको थियो।

यसैगरी गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुंगाेओनो सहरबिच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सुझावित समाचार