बाढीले कञ्चनपुरका साढे दुई सय घरपरिवार डुबानमा

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

बिहीबारदेखिको अविरल वर्षाले कञ्चनपुरका नदी तथा खोलातटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्। वर्षा नरोकिएपछि जलसतह वृद्धि भएसँगै जिल्लाका विभिन्न गाउँबस्ती डुबानमा परेका हुन्। महाकाली नदीसँग जगबुढा नदी मिसिएर बस्तीतिर बाढी गएको छ।

दोधारा–चाँदनी नगरपालिका– १० निसानीसहितका टोल डुबानमा परेपछि यहाँका झन्डै ४० परिवार विस्थापित भएका छन्। महाकाली नदीमा मिसिएर चुरे भएर बग्ने भुजेला खोला गाउँमा उल्टिएपछि भीमदत्त नगरपालिका– ११, १२ र १३ का गाउँबस्ती पनि डुबानमा परेका छन्।

भीमदत्त– ११ का वडाध्यक्ष प्रकाश थापाका अनुसार भुजेला खोला महाकाली नदीसँग ठोक्किएर गाउँ पसेको हो। तीनै वडाका गरी झन्डै डेढ सय परिवार विस्थापित भएका उनले बताए।

दोदा नदीले पुनर्वास नगरपालिका– ५ सिमरी गाउँ डुबानमा परेको छ। सिमरी गाउँका झन्डै ७० परिवार विस्थापित भएका छन्। 

दुई महिनाको अवधिमा कञ्चनपुरका नागरिक बाढीको चपेटामा परेका छन्। दुई महिनाअघि मात्रै गत असार तेस्रो साता आएको बाढीले विस्थापित भएका यहाँका नागरिक अहिले फेरि डुबानमा परेका हुन्। घर फर्किएको दुई महिनामै फेरि विस्थापित भएपछि उनीहरू थप मारमा परेका छन्।

सुझावित समाचार