प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले बिहीबार आफ्ना मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित कार्यालयमा उनले उपप्रधानमन्त्री र मन्त्रीहरूसँग वार्षिक कार्यक्रममा आधारित रहेर आर्थिक वर्ष ०८१/८२ को कार्यसम्पादन सम्झौता गरेका हुन्।

प्रधानमन्त्रीले उपप्रधानमन्त्रीसहित मन्त्रीहरूसँग पालैपालो सम्झौता गरेर सम्झौताको प्रति साटासाट गरे। केही मन्त्री बाहिर रहेकाले आएपछि उनीहरूसँग पनि सम्झौता हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मन्त्रीहरूले पेस गरेका कार्ययोजनामा प्रधानमन्त्री र सबै मन्त्रीबिच छुट्टाछुट्टै सम्झौता गरिएको थियो। मन्त्रीसँगै प्रधानमन्त्री कार्यालयका मुख्यसचिवसँग पनि यस्तो सम्झौता गरिएको छ।

सम्झौताबमोजिम सय दिनभित्र मन्त्रीहरूले आफ्नो प्रगति प्रधानमन्त्रीलाई बुझाउनुपर्नेछ। साबिकका ढाँचामा केही हेरफेर गरेर सम्झौता गरिएको छ। यसअघि ०७६ मा प्रधानमन्त्री हुँदा ओलीले नै कार्यसम्पादन सम्झौताको थालनी गरेका थिए। बिचमा रोकिएकामा गत वर्षदेखि पुनः सम्झौता थालनी गरिएको थियो।

सुझावित समाचार