कल सेन्टरको आवरणमा अनलाइन ठगीको धन्दामा संलग्न दुई चिनियाँ र एक फिलिपिनीसहित ४७ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार ललितपुरको कुसुन्तीमा छापा हानी उनीहरूलाई पक्राउ गरेको हो ।
चिनियाँ र फिलिपिनी नागरिकले नेपालीलाई काममा लगाई अनलाइन ठगी गरेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।
घर नै भाडामा लिएर उनीहरूले कल सेन्टरको नाममा अनलाइनसम्बन्धी विभिन्न आपराधिक काम गर्दै आएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । अनलाइन स्क्याम, क्रिप्टो, जुवालगायत अपराधमा उनीहरूको संलग्नता देखिएको छ ।
पक्राउ परेका कामदारलाई छाड्ने र चिनियाँ र फिलिपिनीसहित मुख्य आठजनालाई मुद्दा चलाउने प्रहरी तयारी छ ।