खुकुरी प्रहार गरी श्रीमतीको हत्या

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका– १ नौडाँडा घर भई हाल पोखरा महानगरपालिका– ८ कुँवर टोलस्थित डेरा गरी बस्ने वर्ष ४२ का जहरसिंह कुँवरले श्रीमती वर्ष ४० की राधिका कुँवरलाई खुकुरी प्रहार गरी बुधबार हत्या गरेकाे कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

घरायसी सामान्य विवादपछि कुँवरले श्रीमतीलाई घाँटीमा र पेटमा  खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेकाे थापाले जानकारी दिए । 

एक स्थानीयका अनुसार पेटमा खुकुरी प्रहार गरेका कारण उनको आन्द्राभुँडी अधिकांश बाहिर निस्किएको अवस्थामा हेर्दै बीभत्स र डरलाग्दो अवस्थामा रहेको थियो । घटनापछि वडा प्रहरी कार्यालय पोखरा– ६ बैदामबाट खटिएको प्रहरीले कुँवरलाई खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य सुरु गरेको छ । उनीहरूका एक छोरा रहेका छन् ।

घटनापछि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा श्रीमान कुँवर वैदेशिक रोजगारीबाट केही समयअघि फर्केका थिए। डिप्रेसनसँगै मानसिक स्वास्थ्य समस्या रहेका उनले नियमित औषधिसमेत सेवन गदै आएका थिए । श्रीमान्–श्रीमतीको दैनिकजसो झैगडासमेत हुँदै आएको थियो । सम्बन्धविच्छेदको कानुनी प्रक्रिया सुरु गरेका उनीहरू अदालतबाट निर्णय नहुन्जेलसम्म सँगै बस्ने सहमतिअनुसार सँगै बस्दै आएका थिए ।

घटनापूर्व श्रीमती घरबाट बाहिर निस्कन लाग्दा श्रीमानले जान नदिएपछि विवाद सुरु भएको थियो । विवादका क्रममा श्रीमतीलाई आज तँलाई मार्दिन्छु, कि तँ छैनस् कि म छैन भन्दै श्रीमानले खुकुरी प्रहार गरेका थिए ।

सुझावित समाचार