१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई पदक दिलाउने सय खेलाडी विदेश पलायन भएको विषय संसदमा उठेको छ।
भदौ २२ गते नयाँ पत्रिका दैनिकले १३औँ सागमा स्वर्णसहित २०७ पदक विजेतामध्ये १०० खेलाडी विदेश पलायन शीर्षकमा समाचार प्रकाशित गरेको थियो। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद अर्जुननरसिंह केसीले सो विषय उठाएका हुन्।
राज्यको उपेक्षाका कारण खेलाडी पलायन भएको भन्दै केसीले खेलाडीको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘राष्ट्रको इज्जत, प्रतिष्ठाका प्रतिनिधि दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक प्राप्त २०७ मध्ये १०० जनाले नेपाल छाडिसकेको अवस्था छ। त्यो अवस्था राज्यको उपेक्षा, भविष्यको चिन्ता र निराशाले पलायन भएका हुन्।’
१३औँ सागमा नेपालले ५१ स्वर्णसहित २०७ पदक जितेको थियो । तर, पदक जितेका करिब आधा खेलाडी अहिले विदेशी भूमिमा छन्, जसमा स्वर्ण विजेता २८ खेलाडी छन् ।