ताप्लेजुङ गोल्डकप २०८१ को आयव्यय सार्वजनिक गरिएको छ। आयोजक लाखेजात्रा सञ्चालन समितिले कार्यालयमा पत्रकार सम्मेलन गरी बुधबार प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो।
गोल्डकपले यसपटक ५५ लाख ६४ हजार १२९ रुपैयाँ आम्दानी गर्दा ७३ लाख २० हजार ७४८ रुपैयाँ खर्च भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। प्रतियोगिता सञ्चालनको १७ लाख ५६ हजार ६१९ रुपैयाँ तिर्न बाँकी छ।
आयतर्फ टिकट बिक्रीबाट २३ लाख ७६ हजार ६ सय रुपैयाँ र व्यक्ति तथा संघसंस्थाबाट ३१ लाख ८७ हजार ५२९ रुपैयाँ संकलन भएको हो। खर्चतर्फ खेलमैदान तयारीमा तीन लाख ३९ हजार ९६३ रुपैयाँ, प्यारापिट निर्माणमा १२ लाख ७२ हजार ९७४ रुपैयाँ, स्टेज व्यवस्थापनमा दुई लाख २२ हजार ७३५ रुपैयाँ, कार्यालय व्यवस्थापनमा दुई लाख ४७ हजार ७४० रुपैयाँ र पुरस्कार वितरणमा नाै लाख ६३ हजार २६७ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
यसैगरी, टिम व्यवस्थापनमा १५ लाख ९२ हजार ५५० रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। रेफ्री र अफिसियल व्यवस्थापनमा ६ लाख तीन हजार ११० रुपैयाँ, यातायात व्यवस्थापनमा दुई लाख पाँच हजार ७६५ रुपैयाँ, ४५ पूर्वखेलाडी सम्मानमा ७७ हजार ५५४ रुपैयाँ खर्च भएको छ। मिडियातर्फ तीन लाख ६७ हजार, मेडिकल उपचारमा ५९ हजार ८५ रुपैयाँ तथा आयोजक र स्वयंसेवक खाजा खर्च ६ लाख २३ हजार १२५ रुपैयाँ खर्च भएको छ।
तिर्न बाँकी रहेको रकम स्थानीय तह, हाइड्रोपावर कम्पनी, संघसंस्था, व्यक्ति तथा बाँस बिक्रीबाट आएको आम्दानीले तिर्ने बताइएको छ। फुङलिङ नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ। मेरिङदेन गाउँपालिका र मैवाखोला गाउँपालिकाले जनही एक लाखका दरले कार्यपालिबाट निर्णय गरेको छ।
आठराई त्रिवेणी गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिरिजंगा गाउँपालिका, सिदिङमा गाउँपालिका र मिक्वाखोला गाउँपालिकाले गत वर्षको भन्दा कम नहुने गरी सहयोग गर्ने भएका छन्।