संवैधानिक परिषद्को बैठक शुक्रबारलाई सरेको छ । बैठक बुधबार ५ बजेलाई डाकिएको थियो । बैठकको एजेन्डा के हो भन्ने विषय जानकारी नभए पनि संवैधानिक परिषद्को अंकगणितलाई मध्यनजर गरेर सत्तापक्षले उपसभामुख इन्दिरा रानामाथि निसाना साँधेको छ । उनलाई राजीनामा गर्न बाध्य बनाउने, नमाने दुईतिहाइ बहुमतबाट हटाएर आफ्नो उपसभामुख ल्याउने र संवैधानिक परिषदमा अनुकूलता बनाउने योजनासहित प्रमुख सत्तारूढ दलहरू अघि बढेका छन् ।
प्रधानमन्त्री केपी ओलीले सोमबार सत्तारूढ दलभित्र यस विषयमा औपचारिक छलफल सुरु गराएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले उपसभामुखका विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने प्रस्ताव गरेका थिए । पार्टीको धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार पदाधिकारी बैठक बोलाएका छन् । संवैधानिक परिषदमा बहुमतका लागि निर्णायक रहेको उपसभामुखको विकल्प खोज्ने विषय सत्तापक्षका लागि महत्त्वपूर्ण छ ।