सुन्दरबजारमा साप्ताहिक शनिबारे कृषि हाटबजार सञ्चालन

बुधबार, २६ भदौ, २०८१
डिजिटल संस्करण

लमजुङको दोस्रो ठूलो सहर तथा व्यापारिक केन्द्र सुन्दरबजारमा साप्ताहिक शनिबारे कृषि हाटबजार सुरु भएको छ । हाटबजारमा उत्साहजनक रूपमा स्थानीय किसानले आफ्ना कृषि उपज बिक्री गरेका थिए । 

सुन्दरबजारमा एक दशकअघि बन्द भएको हाटबजार शनिबार पुनः सञ्चालनमा आएको हो। सुन्दरबजारको एभरेस्ट साकोस, सुन्दरबजार नगरपालिका, ग्रामीण सामुदायिक विकास केन्द्र आरसिडिसी–वर्ल्डभिजन, सुन्दरबजार वडा नम्बर ७ को कार्यालय, सुन्दरबजार नगरपालिकाको कृषि विकास शाखा, लमजुङ कृषि क्याम्पस, सुन्दर बजार चेम्बर अफ कमर्स र लउवा संघ सुन्दरबजार एकाइको सहयोग तथा सहकार्यमा हाटबजार पुनः सञ्चालन भएको हो ।

हाटबजार सञ्चालनका लागि सुन्दरबजारस्थित एभरेस्ट बचत तथा ऋण सहकारी संस्थाले संयोजन गरेको छ। यसैगरी ग्रामीण सामूदायिक विकास केन्द्रले हाटबजार स्थलमा ट्रस निर्माण गरिदिएको छ। हाटबजार सञ्चालन गर्न सुन्दरबजार नगरपालिका– ७ को वडा कार्यालय, कृषि विकास शाखा, लमजुङ क्याम्पस, लउवा संघ सुन्दरबजार एकाइ, सुन्दरबजार चेम्बर अफ कमर्सलगायतले सहयोग गरेका छन् । 

नगरप्रमुख कृष्णप्रसाद कोइरालाले कृषकको उत्पादनले बजार पाओस् भन्नका लागि हाटबजार सञ्चालन गर्न नगरपालिकाले चासो देखाएको बताए । पालिकाले आफ्नो पालिकामा भएका कृषकहरूलाई उत्साहित बनाउन कृषि शाखामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरिएको मात्र नभएर विभिन्न गैरसरकारी संघसंस्थाको सहयोगमा कृषकहरूलाई सहयोग गरिरहेकाले अब कृषकहरू उत्पादनतर्फ लाग्नुपर्ने धारणा व्यक्त गरे ।

कृषकहरूको उत्पादन हेरेर उत्पादनमा आधारित अनुदान दिने व्यवस्था र चिस्यान केन्द्र स्थापनाका लागि नगरपालिकाको ध्यान गएको भए पनि कृषकहरूको उत्पादन नबढेसम्म यस्ता कार्यमा लगानी गर्न समस्या भएकाले कृषकहरूले उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका लागि सहयोग गरिरहेको ग्रामीण सामुदायिक विकास केन्द्रका अध्यक्ष राजेन्द्र बोहराले नगरपालिकाले कृषकहरूलाई उत्पादनका लागि नभई उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेमा मात्र कृषकहरू उत्पादनमा लाग्ने बताए । आरसिडिसीले खत्रीठाँटीमा हाटबजार सञ्चालनकै लागि भनेर बनाइदिएको ट्रस अहिले मोटरसाइकल पार्किङ गर्ने स्थान बनेको भन्दै यस्तो अवस्था आउन नदिन सरोकारवालाले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे। 

सुन्दरबजारमा सञ्चालनमा आएको हाटबजारमा नगरपालिकाका ४, ५, ६, ७, १० लगायतका कृषकले उत्पादन बिक्रीका लागि ल्याएका थिए । सुन्दरबजारमा विगत १० वर्षअघि पनि हाटबजार सञ्चालनमा आएको थियो । तर, हाटबजार सञ्चालन गर्न दाताले बनाइदिएको भवनमा राज्य पुनर्संरचनापश्चात् सुन्दरबजार नगरपालिकाको कार्यालय बसेपछि हाटबजार बन्द भएको थियो ।

हाटबजार सञ्चालन भएपछि किसानले उत्पादनको उचित मूल्य पाउने र किसानबाट उत्पादित कृषि वस्तु सजिलैसँग उपभोक्ताले खरिद गरी उपभोग गर्न पाउने र यसबाट  किसानको जीवनस्तर सुधार र उपभोक्ताले सुलभ मूल्यमा कृषि उपज पाउने भएपछि उपभोक्ता र किसान दुवै पक्ष हाटबजारबाट लाभान्वित भएका छन् ।

सुझावित समाचार