काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारणलाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्रमातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्रमातहतका अधिकांश स्थानमा प्रसारणलाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारणलाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ ।
रत्नपार्क वितरण केन्द्रअन्तर्गत महाबौद्ध फिडरअन्तर्गत पर्ने न्युरोड गेट, रञ्जना हल, विशालबजार सबस्टेसनभित्र, विशाल बजारअगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६:३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।
यस्तै, रत्नपार्क बगैँचा, भोटाहिटी साझा भण्डार, असनचोक, बांगेमुढा, भेडासिंह, इन्द्रचोक, सुरज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समयसीमाभित्र बिजुली काटिनेछ । लैनचौर सबस्टेसनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जयनेपाल हल, हात्तीसार चोक, काठमाडौं प्लाजा, मेरियट होटेल, नागपोखरी र नारायणचौरसम्म बिहान ६:३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ।
ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम पनि हुने भएकाले लाइन काटिन लागेको सूचनामा उल्लेख छ । ‘तोकिएको कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिल्यै बिजुली आउन सक्नेछ । बिजुली काटिन गई सेवाग्राहीमा पर्न गएको मर्काप्रति प्राधिकरण क्षमायाचना गर्दछ,’ सूचनामा भनिएको छ ।
प्राधिकरणले काठमाडौं उपत्यकाभित्र भूमिगत गरेको प्रसारणलाइनमार्फत बिजुली प्रवाहका लागि आवश्यक प्राविधिक तयारी गरिरहेको छ ।