लगानी जुटाउने क्रममा रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा स्थानीयवासीलाई प्रतिघर पाँच लाखको सेयर सुनिश्चित हुने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताएका छन् । नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने बताए ।
गरिब तथा विपन्न जनतालाई सेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्ने गरी लागू गर्ने उनले स्पष्ट पारे । ‘गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु,’ उनले भने । जिल्लाभित्र आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको उनले बताए । कोशी करिडोरमा राष्ट्रिय प्रसारणलाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उल्लेख गरे ।
उनले भने, ‘निजी क्षेत्रलाई साथमा लिएर ऊर्जा क्षेत्रको विकासमा लागिनेछ, सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ, उक्त लक्ष्य पूरा गर्न सरकार कटिबद्ध भएर लागिरहेको छ, समृद्ध मुलुक निर्माणका लागि आन्तरिक खपत बढाउँदै बाँकी रहेको विद्युत् विदेशमा निर्यात गरिनेछ ।’ ऊर्जामन्त्री खड्काले सिँचाइसँगै सरकारी अस्पताल, विद्यालय, खानेपानी, सिँचाइको क्षेत्रमा विद्युत् सहुलियत दिन सके जनतालाई सहयोग पुग्ने बताए ।