कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशनमा

मंगलबार, २५ भदौ, २०८१
डिजिटल संस्करण

कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशनमा बसेका छन्। आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रमहरू वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कटौती गरेको भन्दै पूर्वमुख्यमन्त्रीले मंगलबार साढे ४ बजेदेखि प्रदेश सभा भवनअगाडिको क्षेत्रमा अनशन सुरु गरेका हुन्।

संसदबाटै अनशन बस्ने चेतावनी दिएका केदार कार्कीले मंगलबार अपराह्नदेखि अनशन बस्ने भन्दै आइतबार कोशी सरकारलाई ४८ घण्टे अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र पठाएका थिए। तर, सरकारले बेवास्ता गरेको भन्दै उनले पूर्वघोषणाअनुसार अनिश्चितकालीन आमरण अनशन  सुरु गरेको बताएका छन्।

आफूले घोषणा गरेका कार्यक्रमहरू जनमुखी भए पनि वर्तमान सरकारले नियतवश कटौती गरेको आरोप लगाउँदै पूर्वमुख्यमन्त्री कार्कीले अनशन बस्ने चेतावनी दिँदै आएका थिए। उनले १६ साउन २०८१ मा पनि पत्रकार सम्मेलन गर्दै आफूले घोषणा गरेका कार्यक्रमहरू कटौती गरे प्रदेश सरकारविरुद्ध कडा संघर्ष थाल्ने चेतावनी दिएका थिए।

वर्तमान सरकारका मुख्यमन्त्रीले जनमुखी कार्यक्रमहरू कटौती गरेको आरोप लगाउँदै गर्दा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारका मन्त्रालयहरूले भने पूर्वमुख्यमन्त्रीले घोषणा गरेका कुनै पनि कार्यक्रम कटौती नगरेको बताउँदै आएका छन्।

सुझावित समाचार