प्रधानमन्त्री केपी ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीनिवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ४७औँ प्राज्ञसभामा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुुग्ने बताए। ‘आफूूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान होस्। कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस्। सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाई वैज्ञानिकबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्न मेरो आग्रह छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘ज्ञान, विज्ञान र योगको उदगम भूमि नेपाल विकासका दृष्टिले पछाडि परेको छ । अरूले ढुंगा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुुपालनको युुग सुरु गरिसकेका थियौँ । अब ‘ग्रिन हाइड्रोजन’को प्रयोग र अन्तरिक्षको ‘अर्बिट’मा आफ्नै ‘सेटलाइट’ राख्नेतर्फ ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्वसूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले हाम्रा पुर्खाले सुरु गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए। सभाले आर्थिक वर्ष ०८१/०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रुपैयाँको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ ।