ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका छन्। ललितपुर महानगर– १४ स्थित ताल्चीखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै प्रमुख महर्जनले दुई वर्षअगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका संघले पुरस्कृत गरेको स्मरण गराए । उनले उक्त पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताएका हुन् ।
‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर छैन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष लिजा (स्थानीय तह संस्थागत स्वमूल्यांकन) मा देशभरकै उत्कृष्ट स्थानीय तहका रूपमा घोषित गरेको छ। धेरै क्षेत्रमा देशभरका महानगरमध्ये उत्कृष्ट बन्न सफल भएको छ,’ उनले भने, ‘मलाई विश्वास छ, अस्पतालले यस भेगमा उत्कृष्ट सेवा प्रदान गर्नेछ।’
प्रमुख महर्जनले विगत डेढ वर्षदेखि सेवा प्रदान गर्दै आएको यस अस्पतालले सेवा प्रवाहमा कुनै कसर नराख्नेमा विश्वस्त रहेको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यस अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरे ।
१५ शय्या रहेको यस अस्पतालमा ३० जनाभन्दा बढी डाक्टर रहेको र आकस्मिक, बहिरंग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ। वडासँगको समन्वयमा वडाका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सिबी थापाले जानकारी दिए