स्वतन्त्र भारतका प्रधानमन्त्री नेहरू १९५० मा लन्डन पुगेका थिए । त्यहाँको एउटा समारोहमा उनको भेट ब्रिटेनका पूर्वप्रधानमन्त्री सर विन्स्टन चर्चिलसँग भयो । चर्चिल नेहरूका कटु आलोचक थिए । तर, उनीहरू दुवैले खुलेर कुरा गरे । भेटमा दुवै नेताले पुराना दिन सम्झिरहेका थिए । उनीहरू पुरानो समयमाथि बहस गरिरहेका थिए ।
बहसकै क्रममा चर्चिलले नेहरूसित सोधे, ‘महामहिम, तपाईं त भारतमा अंग्रेजको शासनकालमा जेल पनि बस्नुभयो हगि ? साँच्ची तपाईंले अंग्रेजहरूको जेलमा कति वर्ष बिताउनुभयो ? के म जान्न सक्छु ?’
चर्चिलको प्रश्न सुनेपछि नेहरूले सहज ढंगमा जवाफ दिए, ‘हो, जेल त लामै समय बसियो नि ! लगभग १० वर्ष बसियो ।’ नेहरूको जवाफ सुनेपछि चर्चिलले अलि व्यंग्य भावमा भने, ‘हामीले तपाईंमाथि त्यस्तो व्यवहार गरेको सम्झेर अहिले तपाईंलाई हामीमाथि घृणा लागिरहेको होला, हैन ?’
उनको त्यस्तो प्रश्न सुनेर नेहरूले सहज ढंगमा जवाफ दिए, ‘कुरा यो होइन, हामीले एउटा यस्ता नेताको अधीनमा काम गरेका छौँ, जसले हामीलाई दुईवटा कुरा सिकाएका छन् । पहिलो कुरा, कसैसँग नडाराउनू र दोस्रो हो, कसैलाई घृणा नगर्नू । त्यसैले, हामी त्यतिवेला तपाईंहरूसँग डराउँदैनथ्यौँ र अहिले विगत सम्झेर तपाईंहरूलाई घृणा पनि गर्दैनौँ ।’