करिब तीन क्विन्टल गाँजासहित एकजना पक्राउ

सोमबार, २४ भदौ, २०८१
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिका– ११ स्कुलटोलबाट बेवारिसे अवस्थामा करिब तीन क्विन्टल गाँजा बरामद गरेको छ । 

कर्जन्हा– १० स्कुलटोलबाट दुई क्विन्टलभन्दा बढी गाँजासहित तीनजना पक्राउ परेको दुई दिन नबित्दै आइतबार दिउँसो दुई क्विन्टल ९० किलोग्राम गाँजा बेवारिसे अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

स्थानीय शोभाकुमारी साहको घरपछाडि झाडीमा भेटिएको गाँजासहित शंकाको आधारमा अनुसन्धानका लागि स्थानीय करिब ३७ वर्षीय प्रदीप मुखियालाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । 

झाडीमा गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हाबाट प्रहरी सहायक निरीक्षक तेजप्रसाद अधिकारी र इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले प्लास्टिकको १९ वटा पोकामा प्याक गरिएको गाँजा बरामद गरेको उनले बताए । उनका अनुसार गाँजासहित पक्राउ गरिएका मुखियालाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले दुई दिनअघि मात्र कर्जन्हा– १० स्कुलटोलबाट गोठमा लुकाएर राखेको दुई क्विन्टल १७ किलोग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको थियो । प्रहरीले गाँजासहित एक भारतीय नागरिकसहित एक मकवानपुरका र एक स्थानीय महिला गरी तीनजनालाई पक्राउ गरेको थियो । 
 

सुझावित समाचार