वेष्ट ब्यांकबाट इजरायली सेना फिर्ता

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण
वेष्ट ब्यांकबाट इजरायली सेना फिर्ता

जेनिनमा इजरायली सेना । तस्बिर : सिन्ह्वा

इजरायली सेना १० दिनको अपरेसनपछि शुक्रबार जेनिन सहर र त्यहाँका शरणार्थी शिविरबाट हटेको प्रत्यक्षदर्शीले बताएका छन्। कब्जा गरिएको वेष्ट ब्यांकमा भएको इजरायली आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो।

बख्तरबन्द सवारी र बुल्डोजरको सहयोगमा सेनाले विनाशकारी आक्रमण गरेको धेरै दिनपछि भागेका बासिन्दा शिविरमा फर्केका छन्। उक्त क्षेत्र इजरायलविरुद्ध लड्ने प्यालेस्टिनी सशस्त्र समूहको गढ थियो।

अगस्ट २८ मा सेनाले जेनिनलगायत वेष्ट ब्यांकको उत्तरी क्षेत्रका धेरै सहर र गाउँमा सैन्य अभियान चलाएको थियो।

फिर्तीबारे पुष्टि नगरी इजरायली सेनाले जेनिन क्षेत्रमा आतंकवादविरोधी गतिविधि सञ्चालन गरिरहेको बताएको छ। ‘आतंकवादविरोधी अभियानको उद्देश्य हासिल गर्न इजरायली सुरक्षा बलले लगातार कारबाही गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

जेनिनमा भएको अपरेसनमा १४ लडाकुको मृत्यु भएको, संदिग्ध ३० जनालाई पक्राउ गरेको, सडकमुनि राखिएका करिब ३० वटा विस्फोटक पदार्थ नष्ट गरिएको र चारवटा हवाई आक्रमण गरिएको सेनाले बताएको छ।

अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु भएको छ। अक्टोबर ७ मा दक्षिणी इजरालयमा आक्रमण गरेर गाजामा जारी युद्धलाई जन्म दिएको हमास र प्यालेस्टिनी इस्लामिक जिहादले मारिनेहरूमा कम्तीमा १४ लडाकु रहेको बताएका छन्। 

जेनिन शिविरका धेरै घर बुल्डोजरहरूले क्षतिग्रस्त वा नष्ट भएका छन्। इजरायली बख्तरबन्द सवारीहरू फिर्ता भएपछि शुक्रबार बासिन्दाहरूले भग्नावशेष सफा गर्न आफ्नै बुल्डोजर प्रयोग गरिरहेको एएफपीका पत्रकारहरूले बताएका छन्।

इजरायलले सन् १९६७ देखि वेष्ट ब्यांक कब्जा गरेको छ र उसका सेनाले नियमित रूपमा प्यालेस्टिनी समुदायमाथि आक्रमण गरिरहेको छ। अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि इजरायली सेनाले वेष्ट ब्यांकमा गरेको आक्रमणमा कम्तीमा ६६१ प्यालेस्टिनीको मृत्यु भएको छ।

सुझावित समाचार